क्रेजी ह्याटबाट उदाएका पप गायक सुनिल
Monday, October 6th, 2025, 9:22 am
Kalpristha
भिडियोः https://www.youtube.com/watch?v=KXOsO8bkiv8&t=6s
पहिलो एल्वम ‘क्रेजी ह्याट’ बाटै चर्चित गायकको रुपमा चर्चा बटुल्न सफल सुनिलले क्रमश ‘घटना घट्यो’, ‘१४ अञ्चल’, ‘चैतमा’ र ‘आखाँ मुटु’ एल्बम सृजना गर्नुभएको थियो । ‘क्रेजी ह्याट’बाटै इमेज एफएफको इमेज अवार्डमा युवा पप गायकको मनोनयनमा समेत उहाँ पर्न सफल हुनु भएको थियो ।
सौरभ राना
नेपालगन्ज, ९ असोज
पातलो शरीर अनि स्टालिस पहिरन पप गायक सुनिल सिंह ठकुरीको विशेषता हो । बालक उमेरबाटै गीत संगीतमा रुची राख्ने सुनिलको सांगीतिक यात्रा २०६५ साल देखि सुरु भएको थियो । गीत संगीतको क्षेत्रमा लागेको १७ वर्ष पार गरिसक्दा उत्तिकै उर्जाशील भएर आफनो गायन पेशामा निरन्तर सक्रिय हुनुहुन्छ सुनिल ।
बाँके खजुरा गाउँपालिका–०२ बुबा कुशल सिंह ठकुरी र आमा पार्वता सिंह ठकुरीका छोरा सुनिलले पाँच वटा एल्बमहरु सृजना गरिसक्नु भएको छ । पहिलो एल्वम ‘क्रेजी ह्याट’ बाटै चर्चित गायकको रुपमा चर्चा बटुल्न सफल सुनिलले क्रमश ‘घटना घट्यो’, ‘१४ अञ्चल’, ‘चैतमा’ र ‘आखाँ मुटु’ एल्बम सृजना गर्नुभएको थियो । ‘क्रेजी ह्याट’बाटै इमेज एफएफको इमेज अवार्डमा युवा पप गायकको मनोनयनमा समेत उहाँ पर्न सफल हुनु भएको थियो ।

…….
त्यसपछि सुनिलको यात्रा म्युजिक भिडियो तर्फ आर्कषित भएको छ । समयको मागसँगै ‘जानी नजानी’ पहिलो म्युजिक भिडियो सृजना गरेपछि ‘जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । जसमा महानायक राजेश हमाल र मधु भंटराईले सँगै पहिलो पटक अभिनय गर्नु भएको थियो ।
त्यसपछि उहाँका ‘म मान्टे बिन्दास’, ‘बेबी सुन न’, जापानी सहरको सुन्दरतालाई चित्रण गरिएको ‘नागोया’, ‘जनता जान्न चाहन्छन्’, ‘ब्रेकअप पार्टी’ र ‘सुस्तरी’ म्युजिक भिडियो सुनिलले गरेका उत्कृष्ट सृजना हुन् । ‘नागोया’ बोलको गीत जापानको सरकारी टेलिभिजन एनएचकेमा प्रसारण भएपछि उहाँलाई सम्मानको अवसर पनि मिलेको थियो । ‘जनता जान्न चाहन्छ’ गीत पत्रकार ऋषि धमला र उहाँकी श्रीमती एलिजा ढकालले अभिनय गरेका कारण चर्चामा रहेको थियो ।
सुनिलले नेपाली फिल्म ‘नबोलेनी हासिराखन’ समेत अभिनय गर्नु भएको छ । जुन फिल्ममा नायक निखिल उप्रेती, रिचा सिंह ठकुरीसँगै उहाँले अभिनय गर्नु भएको छ । गत वर्ष ‘ब्रेक अप पार्टी’ म्युजिक भिडियोबाट सुनिलले सारेगामापा ‘नेशनल म्युजिक अवार्ड–२०८१’ मोर्डन पप सिंगर पुरुष विधाको अवार्ड र ‘वेष्ट मोर्डन पप सिंगर पुरुष पब्लिक च्वाइस अवार्ड’ प्राप्त गर्नु भएको थियो ।
नेपाल र विदेशका विभिन्न स्थानमा गरी सुनिलले करिब ५ सय कन्र्सटमा आफनो प्रस्तुती राखिसक्नु भएको छ । सन् २०१७ मा रेडियो नेपाललमा वातावरणको महत्वलाई समेटिएको गीत ३ सय ६५ गायकले एकै पटक प्रत्यक्ष प्रसारणमा गाउनु भएको थियो । त्यसमा सुनिल एक जना गायक हुनुहुन्छ । जुन गीतले गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत आफनो नाम लेखाएको छ ।
यी त भए सुनिलले हासिल गर्नु भएका उपलब्धी । अबका दिनमा आफनो जीवन गीतसंगीतमै सर्मपित रहने बताउनु हुन्छ सुनिल । उहाँले भन्नु भयो, ‘गीत संगीत मेरो जीवन हो । मेरो सृजनाले मानिसलाई मनोरञ्जन प्रदान गरोस भन्ने मेरो चाहना हुन्छ । गीत संगीतको माध्यमबाटै म नेपाललाई विश्वमा चिनाउन चाहन्छु ।’
कुनै पेशा कर्ममा दशक पुरा गर्न सहज छैन । तर सुनिलले डेढ दशक भन्दा बढी समय देखि गीत संगीतको क्षेत्रबाट जनतालाई मनोञ्जन गराइरहनु भएको छ । बाँके खजुराको गाउँमा जन्मिएर गीत संगीतको क्षेत्रमा गरेको योगदानलाई सम्मान गर्दै कालपृष्ठ दैनिकले आफनो २८औं वार्षिक उत्सव अवसरमा सुनिल सिंह ठकुरीलाई प्रदान गर्दैछ ‘कालपृष्ठ युवा पप गायक’ पुरस्कार–२०८२ ।