‘हेवी वेट’ सँग प्रतिस्पर्धा गर्दै वीरेन्द्र
Monday, January 26th, 2026, 7:40 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ माघ
प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ मा ‘हेवी वेट’ का नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ नेकपा एमालेका ‘हेवी वेट’ का नेता, नेपाली काँग्रेसका नेतालगायत प्रतिस्पर्धामा छन् । सदस्यका लागि नेकपा एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद पौडललगायत चुनावी मैदानमा हुनुहुन्छ भने उहाँहरुसंग नेपाल कम्यूनिष्ट पार्टी माओवादीका ३५ वर्षीइ युवा नेता वीरेन्द्र बिक प्रतिस्र्धामा उत्रिनुभएको छ ।
पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आउनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यो क्षेत्रबाट लगातार जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष पौडेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्न, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीप र वीरेन्द्रलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेका प्रभावशाली नेता पौडेलसँग प्रतिस्पर्धामा होमिनुभएका वीरेन्द्र स्थानीय मतदातामाझ लोकप्रिय बन्दै गएको दाबी गर्नुभयो । जनेजी पुस्ताको माग सम्बोधन गर्ने उद्देश्यका साथ निर्वाचनमा होमिएको उल्लेख गर्दै उहाँले देशमा व्याप्त रहेको भ्रष्टाचार, अनियमितताको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
‘जेनजीले उठाएको मुद्दा नै आफ्नो मुद्दाका रुपमा रहेको छ,’ बिरेन्द्रले भन्नुभयो, ‘देशमा जताततै भ्रष्टाचार र अनियमितता छ, कसै न कसैले यसबिरुद्ध लड्न जरुरी छ, त्यसकारण आफ्नो मुद्दा भनेकै जेनजीको मुद्दा हो, आम मतदाता पनि व्याप्त यो समस्याबाट ग्रसित छन् ।’ हिँजोका दिनमा सत्ता बाहिर रहँदा पनि आफु निरन्तर मतदाताको सेवामा रहेकाले पनि अहिले उहाँहरुको आर्शिवाद आफुलाई रहेको उम्मेदवार युवा नेता वीरेन्द्रको भनाई छ ।
‘संगठनको नीति बिचारलाई आम मतदाताले बुझेका छन्, सत्तामा नहुँदा पनि मतदाताको मुद्दामा सक्रिय छु,’ उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, सुकुम्बासी समस्या, भूमि समस्या व्यवस्थापन गर्ने कार्यमा दिनरात खटिएको कुरा सबैले बुझेका छन् ।’ वीरेन्द्र पार्टीलाई चलायमान बनाउन र मतदातामाझ लोकप्रिय भएका कारण अघि सारेको पार्टी स्रोत बताउँछ । पटक–पटक सत्तामा पुगेकाभन्दा अब नयाँले भ्रष्टाचारमुक्त समाज निर्माण तथा नयाँ ढंगबाट देश डो¥याउन आफुलाई जनताले विश्वास गरेको वीरेन्द्रले दाबी गर्नुभयो ।
जनताको दुःख, पीडा र समस्यालाई नजिकबाट बुझ्ने र त्यसविरुद्ध निर्भीक रूपमा लड्दै आएकाले आफुलाई समर्थन प्राप्त हुने उहाँको विश्वास छ । माओवादीले पनि यस क्षेत्रलाई रणनीतिक रूपमा महत्वपूर्ण ठान्दै आएको छ । एता पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले रुपन्देही २ मा आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गर्नुभयो । २०७४ को भन्दा बढी मतान्तरले चुनाव जित्ने उहाँको भनाइ छ । २०७४ मा पौडेलले ४४ हजार ९ र नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाउनुभएको थियो । उहाँसंगै यस क्षेत्रमा ३४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको निर्वाचन अधिकृत कार्यालयका बुद्धि पराजुलीले जानकारी दिनुभयो ।
राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने कमल भुसाल, राष्ट्रिय जनमोर्चाबाट रुकबहादुर पराजुली, जनता समाजबादी पार्टी नेपालबाट दिपक गुरुङ, नेकपा माओवादीबाट बीरेन्द्र बिक, राष्ट्रिय जनमुक्ति पार्टीबाट केशवबहादुर थापा, श्रम संस्कृति पार्टीबाट भिमबहादुर गौतम, समावेशी समाजवादी पार्टीबाट देवेन्द्रबहादुर खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायणप्रसाद नागिला, मंगोल नेसन अर्गनाइजेनबाट चन्द्र कुमारी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यन्जु र नेसनल रिपब्लिक नेपालबाट थम्मन बहादुर बुढा मगर प्रतिस्पर्धामा होमिनुभएको छ । यस्तै स्वतन्त्रबाट श्रम संस्कृति पार्टी परित्याग गर्नुभएकी उक्त पार्टीकी लुम्बिनी प्रदेश सहसंयोजक सुशीला पुलामी मगर लगायत १७ जना रहनुभएको छ ।
को हुन् युवा नेता वीरेन्द्र ?
३५ वर्षीय वीरेन्द्र बिक माओवादी आन्दोलनदेखि सुनिएको नाम हो । विद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय नाम हो वीरेन्द्र । उहाँ विद्यार्थी समयमा नै राजनीतिको यात्रा सुरु गरेर हाल जिल्ला अध्यक्ष हुनुहुन्छ । २०६० सालदेखि सक्रिय वीरेन्द्र विद्यार्थी जीवनमा नै अखिल क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला सदस्य हुनुभयो । संगठनभित्रको सक्रियताले नै सचिव हँदै उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष बन्नुभयो ।
२०७७ सालसम्म अखिल क्रान्तिकारी संगठनको केन्द्रीय सदस्य बन्नभुएका वीरेन्द्र २०७७ सालदेखि नै नेपाल कम्यूनिष्ट पार्टी माओवादीका जिल्ला सेक्रेटरीको जिम्मेवारी निर्वाह गर्नुभयो । जिल्लामा पार्टीलाई चलायन र विभिन्न मुद्दा तथा सवालमा खबरदारी गर्न वीरेन्द्रले प्रभावकारी भूमिका निभाउँदै आउनुभएको छ । बि.सं २०७९ सालदेखि पार्टीको नेतृत्व सम्हाल्दै हाल आएर प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा उत्रिनुभएको छ ।
भुइँतहमा परिचित वीरेन्द्र गरिब, सुकुम्बासी, श्रमिक तथा उत्पीडित वर्गको हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आउनुभएको छ । करिडोर पीडित आन्दोलन, मिटर ब्याजीविरुद्धको संघर्ष, भूमिहीन र सुकुम्बासीका मुद्दा तथा सामाजिक अन्यायविरुद्धका अभियानमा अग्रपंक्तिमा उभिँदै आएको नाम हो वीरेन्द्र ।