अध्ययनको लागि विद्यार्थीको रोजाई बनिरहेको महेन्द्र पुस्तकालय
Thursday, April 23rd, 2026, 5:52 am
Kalpristha
साबित्री बिश्वकर्मा
नेपालगन्ज, १० वैशाख
पश्चिम नेपालको ऐतिहासिक पुस्तकालय हो महेन्द्र पुस्तकालय । कालिकोट घर भएका १८ वर्षीय छबी सार्की अहिले कक्षा १२ को परिक्षाको तयारी गरिरहनुभएको छ । उहाँ दिनहँुजसो दिउँसोको समयमा आफ्नो अध्ययन महेन्द्र पुस्तकालयमा आएर नै गर्ने गर्नुहुन्छ । कोठामा हुँदा पढ्नको लागि विभिन्न कुराहरुले ध्यान भंग गरिरहने भएकोले अध्ययनको लागि पुस्तकालय आफ्नो रोजाईमा रहेको उहाँले बताउनुहुन्छ । पुस्तक अध्ययन गर्दा वरपरको माहोलले पनि निकै महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ । उहाँका अनुसार अध्ययन गर्दैगर्दा सन्दर्भ सामग्री पुस्तकालयमा उपलब्ध हुने भएकोले अध्ययनको लागि पुस्तकालय उपयुक्त रोजाई हो ।
त्यस्तै निमराज खड्का अहिले लोकसेवा आयोगको तयारी गरिरहनुभएको छ । उहाँको दैनिकी पनि महेन्द्र पुस्तकालयमा नै वित्ने गर्दछ । जाजरकोट घर भएका निमराज अहिले महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तह तेश्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ । उहाँका अनुसार साथीहरुसंग छलफल गर्दै पुस्तकालयमा पढ्नाले एकाग्र भएर अध्ययन गर्न सहयोग मिल्ने गर्दछ ।
पछिल्लो समय अध्ययन गर्नको लागि विद्यार्थीको पहिलो रोजाई बनिरहेको छ महेन्द्र पुस्तकालय । महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवका अनुसार प्रत्येक दिन १५ देखि २० जनासम्म आउने गरेका छन् । प्रविधीको प्रयोगले भौतिक रुपमा पुस्तकालय प्रयोग गर्ने परम्पराको क्रम घट्दो भएता पनि सन्दर्भ सामग्री र पठनीय वातावरण खोज्ने पाठकहरुले पुस्तकालयमा आएर अध्ययन गर्ने गरेको उहाँले बताउनुभयो ।

………
महेन्द्र पुस्तकालयमा पठनीय वातावरण कायम राख्नको लागि सिसिटिभी क्यामेरा जडान गरिएको, पानीको व्यवस्था, वाईफाईको व्यवस्था र बसाई व्यवस्थापन गरिएको अध्यक्ष यादवले बताउनुभयो । अहिलेसम्म लुम्बिनी प्रदेश सरकार र केही पालिकाको सहयोगमा व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो ।