जय बागेश्वरी फाइनलमा, मनकामनाले हरायो गतवर्षको च्याम्पियनलाई
Friday, June 19th, 2026, 10:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
जय बागेश्वरी स्कुल नेपालगन्ज बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता अन्तर्गत छात्र तर्फको खेलमा फाइनलमा प्रवेश गरेको छ । जय बागेश्वरीले पेनाल्टी सुटआउटमा नेपालगन्ज मोडेल एकेडेमीलाई ३–० ले पराजित गरेको छ । खेलमा जय बागेश्वरीका गोलकिपर विशेष थारु प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई योगिनी युवा क्लबका संस्थापक अध्यक्ष एवम् पुर्व फुटबल खेलाडी तरिन्द्र थापा र खेल पत्रकार गणेश राईले पुरस्कृत गर्नु भयो । तर जय बागेश्वरीले नियम विपरित खेलाडी खेलाएको भन्दैं नेपालगन्ज मोडेल एकेडेमीले प्रोटेस्ट दर्ता गरेको छ । प्रोटेस्टका बारेमा आयोजकले कमिटीको प्राविधिक टिमले आवश्यक छानविन गरेर नतिजा सार्वजनिक गर्ने बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताउनु भयो ।
यसैगरी छात्रा तर्फको खेलमा धम्बोझी स्कुल, नेपालगन्ज मोडेल एकेडेमी, युनाइटेड एजुकेशनल एकेडेमी र मनकामना मावि नेपालगन्जले जित हासिल गरेका छन् । धम्बोझीले साईनिङ स्टार इङलिस मिडियम स्कुललाई १–० ले पराजित गरेको थियो । धम्बोझीको जितमा प्लेयर अफ द म्याच सावित्रा चन्दले २२औं मिनेटमा गोल गर्नु भएको थियो । उहाँलाई नेपाली एथ्लेटिक्समा किर्तीमान खेलाडीको रुपमा परिचित बालकृष्ण चौधरी, धम्बोझी स्कुलका प्रधानाध्यापक बामदेव सुवेदी र पुर्व राष्ट्रिय फुटबल खेलाडी भिम गुरुङले पुरस्कृत गर्नु भयो ।
अर्को खेलमा नेपालगन्ज मोडेल एकेडेमीले जीवनज्योती स्कुल कोहलपुरलाई ६–० ले हरायो । नेपालगन्ज मोडेलको जितमा प्लेयर अफ द म्याच ज्योती कंडेलले ह्याट्रिक गर्नु भयो । उहाँले तिन मिनेट, नौं मिनेट र २२औं मिनेटमा गोल गर्नु भयो । त्यस्तै भावना खड्काले २३औं र ३६औं मिनेट तथा मनिषा बोहोराले सुरुआती छैठौं मिनेटमा गोल गर्नु भएको थियो । प्लेयर अफ द म्याच ज्योतीलाई पुर्व राष्ट्रिय फुटबल खेलाडी प्रसिद्ध जंग राणाले पुरस्कृत गर्नु भयो । युनाइटेडले मंगलप्रसाद माविलाई ४–० ले हरायो । युनाइटेडको जितमा अदिता खड्काले एक मिनेटमा, पुष्पा आलेमगरले १६औं र ३१औं मिनेटमा, सोनम भुजेलले २७औं मिनेटमा गोल गर्नु भयो । खेलको प्लेयर अफ द म्याच नेपालगन्ज न्यूरो हस्पिटलका फार्मेसी डिपार्टमेन्ट प्रमुख दिनेश विष्टले पुरस्कृत गर्नु भयो ।

……
यसैगरी छात्रा तर्फको खेलमा मनकामनाले गत वर्षको विजेता नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । मनकामनाको लागि प्रतिज्ञा शाही, दिपशिखा सिंह र वेदना खड्काले गोल गर्नु भयो भने नेपालगन्ज सेन्ट जेभियर्सको तर्फबाट लक्ष्मी बुढामगर र अल्का थारुले मात्र गोल गर्नु भयो । खेलमा मनकामनाको गोलकिपर प्रियका विक प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई नेपाली राष्ट्रिय ब्याडमिन्टन टिमका पुर्व प्रशिक्षक एवम् जापानी राष्ट्रिय ब्याडमिन्टन टिमका पुर्व प्रशिक्षक जापानी नागरिक टुसियो यामा माटोले पुरस्कृत गर्नु भयो ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा भैरहेको प्रतियोगिताको फाइनल खेल असार ८ गते हुनेछ । प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले नगद ३१ हजार, उपविजेताले १६ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुष ब्राइटल्याण्ड र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए । प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वाेत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो ।

……