अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न
Saturday, June 20th, 2026, 8:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका–०५ बिनौना पार्कमा भएको वार्षिक साधारण सभामा ई–रिक्सा तथा अटोटेम्पोकर्मीको हकहित र अधिकारको बारेमा छलफल गर्दै व्यवसायलाई व्यवस्थित बनाउने बारेमा अन्तरक्रिया समेत गरिएको थियो । अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष धिरेन्द्र प्रताव सिंहको अध्यक्षतामा भएको वार्षिक साधारण सभाको उद्घाटन समारोहमा लुम्बिनीका पुर्व वन तथा वातावरण मन्त्री एवम् ओलम्पियन सुरेन्द्र हमाल, नेपाल प्रेस युनियनका उपाध्यक्ष कमल खत्री लगायतको सहभागिता रहेको थियो ।
साधारण सभाको उद्घाटन समारोहमा पुर्व मन्त्री हमालले ई–रिक्सा चालक अबसाना खान र अब्बास साईलाई उत्कृष्ट ई–रिक्सा चालकको रुपमा सम्मान गर्नु भएको थियो । साधारण सभामा संघका उप–महासचिव एजाज बाबु जोलाहले संघको वार्षिक प्रगति विवरण र कोषाध्यक्ष मनोज खटिकले आर्थिक विवरण प्रस्तुत गर्नू भएको थियो । प्रमुख अतिथी हमालले नेपालगन्जमा ई–रिक्साले थुप्रै मानिसलाई रोजगारीसँगै सहज यातायात सुविधा दिइरहेकोले यो क्षेत्रलाई व्यवस्थित गरेर अगाडी बढाउन सबैको सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘ई–रिक्सा अहिलेको सहज सवारी साधान हो । यसलाई व्यवस्थित गर्न हामी सबैको सहकार्यको आवश्यकता रहेको छ ।’ संघका अध्यक्ष धिरज प्रताव सिंहले सबैको सहयोगले ई–रिक्सा तथा अटोटेम्पो व्यवसायी र चालकको हितका लागि आगामी दिनमा सशक्त रुपमा अगाडी बढने बताउनु भयो । उहाँले भन्नु भयो,‘म खुसी छु । संघ स्थापना भएपछि हामीले दोस्रो वार्षिक साधारण सभा गर्न सफल भएका छौं । संस्थागत रुपमा धेरै कुरा हामीले सिक्ने प्रयास गर्दै अगाडी बढेको छौं । ई–रिक्सा र अटोटेम्पोलाई व्यवस्थित गर्दै सम्मान पुर्व यस क्षेत्रमा लाग्न सबैलाई आर्कर्षित गर्ने लक्ष्य सहित हामी काम गर्ने प्रयास गरिरहेका छौं ।’ संघका महासचिव कुमार सिंह ठकुरीले संघले स्थापना कालदेखी थुपै्र संघर्ष गर्दै अटोटेम्पो तथा ई–रिक्साकर्मीको हितमा काम गर्दै अएको बताउनु भयो ।
कालपृष्ठ दैनिकका सम्पादक समेत रहनु भएका कमल खत्रीले बाँकेमा छोटो समयमा ई–रिक्सा व्यवस्थापनको क्षेत्रमा संघले थुपै्र सकारात्मक काम गरेको बताउनु भयो । खत्रीले दोस्रो साधारण सभाको शुभकामना दिदैं संघले आगामी दिनमा योजना बनाएर ई–रिक्सा क्षेत्रमा अझ सशक्त ढंगले काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संघले अब सबै ई–रिक्साकर्मीलाई बिमा, सवारी चालक अनुमति पत्र, बिल बुक र ट्राफिक नियमको बारेमा सचेत गराई रहनु पर्ने बताउनु भएको थियो ।