जुमाको स्थापना दिवसमा पत्रकार र व्यवसायीको मैत्रीपूर्ण खेल
Thursday, July 2nd, 2026, 9:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
जुमा स्पोर्टस क्लब नेपालगन्जको आठौं स्थापना दिवसको अवसरमा बाँकेको व्यवसायी र पत्रकारहरुको टिम बिच मैत्रीपुर्ण खेल सम्पन्न भएको छ । नेपालगन्ज न्यूरोड स्थित फुटसल मैदानमा भएको मैत्रीपुर्ण खेल ४–४ गोलको बराबरीमा सकिएको थियो । पत्रकारको टिमबाट कुमार श्रेष्ठले २ गोल, समिरमान श्रेष्ठ र कमल खत्रीले १–१ गोल गर्नु भयो । व्यवसायीको तर्फबाट खिम अधिकारी, कौशल आचार्य, भाष्कर काफले र सन्तोष बजगाईले १–१ गोल गर्नु भयो ।
मैत्रीपुर्ण फुटसलमा पत्रकारको टिमबाट नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, पुर्व अध्यक्ष झलक गैरे, नरेन्द्र थापा, शरण कर्माचार्य, अर्जुन वली, भगतराम थारु, समीर शाहीले खेल्नु भएको थियो ।
व्यवसायीको टिमबाट बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ग, कृष्ण प्रसाद श्रेष्ठ, भीमरानाभाट, श्यामसुन्दर अधिकारी, सञ्जय अग्रवाल, अधिवक्ता विकास आचार्य लगायतले खेल्नु भएको थियो । मैत्रीपुर्ण खेलको शुभारम्भ प्रमुख जिल्ला अधिकारी तामाङ्गले रेफ्री केशव रानालाई बल हस्तान्त्रण गर्दै गर्नु भएको थियो । जुमा स्पोर्टस क्लब क्लब २०७५ सालमा स्थापना भएको क्लब हो । जसले व्यवसायीलाई खेलक्षेत्रसँग जोड्ने काम गरिरहेको छ ।
मैत्रीपुर्ण खेल अघि जुमाको आठौ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो । क्लबका अध्यक्ष डा. उदय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भीम रानाभाटले क्लबको स्थापना गर्नुको कारण र इतिहासको बारेमा बताउनु भएको थियो । जुमा स्पोर्टस क्लबका अध्यक्ष अधिकारीले फुटबलसँगै सामाजिक गतिविधिमा क्लब सक्रिय रहँदै आएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तामाङ्गले क्लबको स्थापना दिवसमा शुभकामना दिदैं क्लबले गरेका सामाजिक कार्य उदाहरणीय भएको बताउनु भयो ।

…………..