पञ्चेबाजाको धुनमा नाच्दैं उद्घाटन गरियो राधापुर वडा कार्यालय भवन
Wednesday, July 8th, 2026, 9:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असार
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ वडा कार्यालय राधापुरको नवनिर्मित भवनको आज भव्य कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्लले संयुक्त रुपमा वडाको नवनिर्मित कार्यालयको उद्घाटन गर्नु भयो । वडा कार्यालयको भवन उद्घाटनलाई राधापुरवासीले उत्सवको रुपमा मनाएका थिए । उद्घाटन अवसरमा पञ्चेबाजाको धुनमा वडा कार्यालय परिसरमा नाच्दै स्थानीयले खुसी व्यक्त गरे ।
खजुरा गाउँपालिकाको १ करोड ४० लाख ६४ हजार १ सय ५७ रुपैयाँ ७५ पैसामा भवन निर्माण भएको हो । खजुरा गाउँपालिकाले वडाको भवन निर्माणको लागि २ करोड ९४ लाख रुपैयाँ बिनियोजन गरेको थियो । जसमा १ करोड ४० लाख ६४ हजार १ सय ५७ रुपैयाँ ७५ पैसामा कल्पेश्वर सविना जेभी खजुरा २ ले उक्त ठेक्का प्राप्त गर्दै निर्माण गरेको हो ।
सम्झौता अवधिमै निर्माण कार्य सम्पन्न गरेकोमा निर्माण कम्पनी कल्पेश्वर सविना जेभीका प्रतिनिधि सन्तोष सिर्पालीलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष मनवीर क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीयवासिन्दा र बुद्धिजिवीहरुको पनि सहभागिता रहेको थियो । वडा कार्यालयको नयाँ भवनमा गृह प्रवेश कार्यक्रममा स्थानीयहरु पञ्चेबाजा, नौमती बाजाको धुनमा गाउँदैं, नृत्य गर्दै खुसी साटनु भएको थियो ।
उद्घाटन समारोहमा वडा नम्बर ८ अध्यक्ष फिरोज खाँ, कार्यपालिका सदस्य विष्णु सुनार, वडा सदस्यहरु राम कुमार सुनार, दिपु राना, बाल कुमारी सुनार, वडा सचिव मन्जु शर्मा, इन्जिनियर सोनु शाह, पुर्व वडा अध्यक्ष चिरन्जीवी पाण्डे, राधापुर स्वास्थ्य चौकी प्रमुख सुदिप पौडेल, मैटहवा माविका प्रअ राम चरण चौधरी, नेपाली कांग्रेसका वडा सभापति हस्त बहादुर शाही लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष विकले आफुहरुले स्थानीय जनतासँग गरेको प्रतिवद्धता पुरा गरेको बताउनु भयो । वडा कार्यालयको अवस्था निकै कमजोर भएको महसुस गरेर राधापुरमा वडा कार्यालय निर्माणको लागि बजेट बिनियोजन गरेको उहाँले बताउनु भयो ।

…………

……

…………
उपाध्यक्ष मन्जु मल्लले वडा नम्बर १ ले सधै उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताउँदैं नयाँ भवनबाट जनतालाई दिने सुविधाहरु थप सहज हुँदै जाने विश्वास ब्यक्त गर्नु भयो । वडा अध्यक्ष क्षेत्रीले वडाको विकासमा आफुहरुले इमानदारिताको साथ काम गरेको बताउँदैं विकासमा सबैको सहकार्य जरुरी रहेको बताउनु भयो । वडाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा थुप्रै सकारात्मक काम गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनु भएको थियो ।