रिमझिम चोकबाट लागुऔषध सहित पक्राउ परे सुनिल र दिपेश
Wednesday, July 8th, 2026, 9:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असार
बाँकेको खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिमझिम चोक निवासी सुनिल बुढाथोकी र ‘सी’ गाउँ निवासी दिपेश सुनार रहेका छन् ।
बुधबार दिउँसो करिब २ बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा राधापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
राधापुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) गोपाल सुनारका अनुसार स्थानीयबाट प्राप्त सूचनाको आधारमा निगरानी बढाई अपरेशन सञ्चालन गरिएको थियो । स्थानीयको सहयोगले दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनु भयो ।
पक्राउ परेका सुनिल बुढाथोकी र दिपेश सुनारलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धनौली, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी प्रहरीले गरिरहेको बताएको छ । लागूऔषध सम्बन्धी कुनै पनि सूचना वा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग प्रहरीले अनुरोध समेत गरेको छ ।