खजुरामा कालो बेसार तथा फलफूल खेती तालिम तथा बिरुवा वितरण सम्पन्न
Monday, September 7th, 2026, 1:30 pm
Kalpristha
खजुरामा कालो बेसार तथा फलफूल खेती तालिम तथा बिरुवा वितरण सम्पन्
बाँके, भदौ २२
पारिवारिक निजी वन सङ्घ नेपाल, जिल्ला शाखा बाँकेको आयोजनामा खजुरा गाउँपालिका वडा नं. १ र २ का कृषकहरूलाई लक्षित गरी कालो बेसार तथा फलफूल खेतीसम्बन्धी तालिम, फलफूलका बिरुवा वितरण तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय कार्यकारी निकाय (आरआरएन) र डीजीएम नेपाल परियोजना अन्तर्गतको सहपरियोजनाका रूपमा सञ्चालन गरिएको कार्यक्रम २०८३ भदौ २० र २१ गते खजुरामा आयोजना गरिएको हो। कार्यक्रममा वडा नं. १ र २ का करिब ५० जना कृषकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता पारिवारिक निजी वन सङ्घ नेपाल, बाँके शाखाका अध्यक्ष सुनिल घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा पारिवारिक निजी वन सङ्घ नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष पदम जिसी, केन्द्रीय सचिवालय सदस्य बलराम भट्टराई, खजुरा गाउँपालिका कृषि शाखा प्रमुख युवराज ढकाल, वडा नं. १ का अध्यक्ष मानवीर क्षेत्री वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओली लगायतको उपस्थिति रहेको थियो। दुई दिने तालिममा
तालिममा कृषि शाखा प्रमुख युवराज ढकालले कालो बेसारको खेती प्रविधि, उत्पादन, बजार सम्भावना तथा फलफूल खेतीका आधुनिक प्रविधिबारे कृषकहरूलाई प्रशिक्षण दिनुभएको थियो। उहाँले स्थानीय स्रोत–साधनको उपयोग गर्दै व्यवसायिक तथा बहुवर्षीय फलफूल खेतीमार्फत कृषकको आयआर्जन बढाउन सकिने बताउनुभएको थियो।
कार्यक्रमअन्तर्गत वडा नं. १ र २ का कृषकहरूलाई १ हजार ५ सय आँप र १ हजार ५ सय लिची गरी जम्मा ३ हजार फलफूलका बिरुवा वितरण गरिएको छ। साथै खजुरा गाउँपालिका वडा नं. २ स्थित शुक्र माध्यमिक विद्यालयको जग्गामा आँप तथा लिचीका बिरुवा रोपणसमेत गरिएको छ।
कृषकहरूलाई बिरुवासँगै प्राङ्गारिक मल, फरुवा, ट्रली, हँसिया, गम्बुटलगायत कृषि सामग्रीसमेत वितरण गरिएको थियो। वडा नं. १ का अध्यक्ष मानवीर क्षेत्रीले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताउदै आरआरएन डीजीएम नेपाल परियोजना र सहजीकरण संस्था पारीवारिक निजी बन सङ्ग नेपाल बाके शाखालाइ धन्यवाद दिनु भयो।
कार्यक्रमले कृषकहरूको कृषि ज्ञान, सीप तथा उत्पादन क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीयस्तरमा व्यवसायिक कृषि, आयआर्जन र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।