कांग्रेस केन्द्रीय सदस्यमा पत्रकार कमला हमालको उम्मेदवारी घोषणा
Saturday, October 3rd, 2026, 7:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १७ असोज
नेपाल प्रेस युनियन केन्द्रीय सदस्य कमला हमालले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । पत्रकारिता क्षेत्रमा स्थापित कमला हमालले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट ‘जेन–जी समूह’ अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनी बाँकेको संघीय निर्वाचन क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
पत्रकारिताको सक्रिय यात्रालाई उनले १४ औँ महाधिवेशनबाटै सीमित बनाउँदै आएकी थिइन् । ११ औँ महाधिवेशनबाट क्रियाशील सदस्य भएकी उनी १४ औँ महाधिवेशनमा २४ वर्षको उमेरमा महाधिवेशन प्रतिनिधि भएकी थिइन् । त्यसबेलै केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेकी थिइन् । तर, अग्रजहरुले ‘बेला भएको छैन’ भनेपछि हतोत्साहित भएकी थिइन् ।
नेपाली कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय समितिमा ‘जेन–जी उमेर समूह’ का २१ जनाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर, ‘जेन–जी उमेर समूह’ को उमेरहद भने ३५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था छ । त्यसअनुसार सो उमेर समूहका प्रत्येक प्रदेशबाट एक महिला र एक पुरुष गरी दुई जना निर्वाचित हुने व्यवस्था छ ।
खुलातर्फ ६ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । कमलाले सोही क्लष्टरअन्तर्गत लुम्बिनी प्रदेशबाट प्रतिस्पर्धा गर्ने भएकी हुन् । नेपाल प्रेससँग कुरा गर्दै हमालले १४ महाधिवेशनपछि नै पत्रकारितामा निस्कृय भएको र यसपटक केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसमा पूर्णकालीन भएर सक्रिय हुने योजना रहेको बताइन् । ‘म आफ्नो जितप्रति निश्चिन्त छु’, उनले भनिन् ।