कांग्रेस खुल्ला महिला केन्द्रीय सदस्यमा निमा गिरीको उम्मेदवारी
Monday, October 5th, 2026, 7:50 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १९ असोज
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री एवम् लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुल्ला महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । जुन समुहबाट ९ जना महिला निर्वाचित हुनेछन् ।
केन्द्रीय सदस्य उम्मेदवार गिरीले महाधिवेशनमा आउनु भएका सम्पुर्ण प्रतिनिधिलाई आफनो योगदानको मुल्यांकन गर्दै निर्वाचित गराउने विश्वास व्यक्त गर्नु भएको छ ।
उहाँले भन्नु भयो,‘म आम प्रतिनिधिज्यूहरुसँग भेटने प्रयास गरेको छु । १५औं महाविधेशनमा आउनु सम्पुर्णलाई भेटने प्रयास गरेको छु । तर सबैसँग भेटेर मत माग्ने समय अभाव हुन सक्छ । पार्टीलाई नयाँ ढंगले अगाडी बढाउन मैले गरेको योगदानको मुल्याकंन गर्दै आमकर्ताले मलाई निर्वाचित गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

………….
गिरीले महाधिवेशनमा आउनु भएका सम्पुर्ण कार्यकर्तालाई अपिल गर्दै भन्नु भएको छ, ‘करिब ७८०० प्रतिनिधि काठमाडौं आउनु भएको छ । यो महाकुम्भमा सबैसँग मेरो भौतिक चिनजान नहुन सक्छ । तर तपाईले आफनो साथी, बैनी, छोरी, दिदी र अनवरत मैदानमा लडिरहेको एक महिला योद्धाको रुपमा सधै साथ र सहयोग गर्नु भएको छ । म तपाईहरु माझ पुग्न सकौला–नसकौला, मेरो उम्मेदवारी तपाईको आफनै उम्मेदवारी मानेर सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’
गिरी कानुनको विद्यार्थी हुनुहुन्छ । अधिवक्ता गिरीले व्यवस्थापन र राजनीतिशास्त्र र कानुनमा स्नातकोत्तर तहको अध्ययन गर्नु भएको छ । प्युठान झिमरुक गाउँपालिका–०७ मच्छी निवासी गिरीले नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । विद्यार्थी राजनीति हुँदैं पार्टीमा सक्रिय हुनु भएको गिरी पार्टीको महाधिवेशन प्रतिनिधि, प्रदेशसभा सदस्य, लुम्बिनी प्रदेश कांग्रेसको उच्च तहमा पुग्नु भएको छ । २०६७ सालमा भएको नेपाली कांग्रेसको १२आंैं महाधिवेशनमा गिरी देभरकै कान्छी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बन्नु भएको थियो ।
लुम्बिनी प्रदेश सरकारमा पनि गिरी चर्चित प्रदेशसभा सदस्यको रुपमा चिनिनु भएको छ । गिरीले प्रदेश मामिला तथा कानून समिति सदस्य र विशेषाधिकार समिति सदस्यको रुपमा जिम्मेवारी निर्वाह गर्नु भएको छ । उहाँले प्रदेशसभामा कानुन निर्माण, निजामति सेवा, सार्वजनिक नीति तथा प्रदेशका विकाससम्बन्धी विषयहरुमा आवाज उठाउँदैं आउनु भएको छ । लुम्बिनी प्रदेश सभामा गिरीले आफनो वार्षिक ‘रिर्पोट कार्ड’ सार्वजनिक गर्ने गर्नु भएको छ । प्रदेश सभामा नयाँ अभ्यासको रुपमा लिइएको यस कार्यले सार्वजनिक पदमा बसेका व्यक्तिको काम प्रति जिम्मेवारी निर्वाह र जवाफदेहितालाई मुल्यांकन गर्ने गरेको छ ।