प्रेस युनियन बाँकेले शुक्रबार ‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार–२०८३’ प्रदान गर्दै
Thursday, November 19th, 2026, 5:30 am
Kalpristha
नेपालगन्ज, ३ मंसिर
नेपाल प्रेस युनियन बाँकेले भोली शुक्रबार ‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार–२०८३’ प्रदान गर्ने तयारी गरेको छ । बाँकेमा क्रियाशिल महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै पत्रकारितामा क्रियाशिल रहनको लागि हौसला प्रदान गर्ने उद्देश्यले संचालन गरिएको ‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार–२०८३’ मा उत्कृष्ट तिन महिला पत्रकारलाई पुरस्कृत गरिनेछ । जसमा प्रथम हुने ८ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै विभिन्न स्थान हासिल गर्ने महिला पत्रकारहरुलाई नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्शु कोइराला र सिता काफ्लेले पुरस्कृत गर्ने नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले बताउनु भयो । महिला पत्रकारलाई लक्षित गरेर नेपाल प्रेस युनियन बाँकेले सुरु गरेको ‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार–२०८३’ ले बाँकेमा क्रियाशिल महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा सक्रिय भएर काम गर्न उर्जा थप्ने काम गर्ने अध्यक्ष खत्रीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले यो कार्यक्रमलाई विशेष महत्वको साथ आयोजना गरिरहेको छौं । यस वर्ष थप परिस्कृत गर्दै महिला पत्रकारलाई यो कार्यक्रममा सहभागिताको लागि हामीले खुला रुपमा आवहन गरेको थियौं । उहाँहरुको पनि उत्साह जनक रुपमा सहभागिता रहेको थियो ।’
‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार–२०८३’ प्राप्त गर्नको लागि यस वर्ष आयोजक नेपाल प्रेस युनियन बाँकेले समाजमा सकारात्मक परिर्वतन, सफलता र प्रेरणा दिने महिलाहरुको प्रोफाइल तथा फिचर लेखनको लागि विषय वस्तु छनोट गरेको थियो । उक्त विषयमा बाँकेका करिब १ दर्जन महिला पत्रकारले प्रोफाइल तथा फिचर उत्पादन गरेर आयोजकलाई पठाएका थिए । सोही आधारमा नेपाल प्रेस युनियनको छनोट समितिले उत्कृष्ट महिला पत्रकार पुरस्कार प्राप्त गर्ने पत्रकारलाई छनोट गरेको थियो । यसरी उत्कृष्ट भएका महिला पत्रकारहरुको प्रोफाइल स्टोरी तथा फिचरलाई युनियनले प्रकाशन गर्ने बुलेटिनमा प्रकाशित गर्दै आएको छ ।
युनियन बाँके अध्यक्ष खत्रीले पत्रकारहरुलाई यस्ता लेखन अभिवृत्ति कार्यक्रमले महत्वपुर्ण सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘यो कार्यक्रमले महिला पत्रकारलाई नयाँ विषयवस्तु र क्षेत्रमा अध्ययन गर्न, लेख्न अभिप्रेरित गर्छ । लेखनका आधारमा नगद पुरस्कार पनि पाउने भएकोले थोरै भएपनि आर्थिक रुपमा यसले सहयोग गर्छ । यस कार्यक्रम मार्फत पत्रकारितामा क्रियाशिल भएर काम गरिरहेको पत्रकारलाई थप सक्रिय बनाउने हाम्रो उद्देश्य हो ।’
‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार–२०८३’ को आयोजनाका क्रममा प्राप्त भएका सुझाव र सल्लाह अनुसार आगामी वर्ष देखि थप नयाँ ढंगले आयोजना गर्ने पनि युनियनले तयारी गरिरहेको अध्यक्ष खत्रीले बताउनु भएको छ । युनियन बाँकेले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा पत्रकारिताको विकासको लागि हरेक वर्ष विभिन्न गतिविधिहरु आयोजना गर्दै आएको छ ।