राप्ती सोनारीमा अष्टम साना किसान सहकारीको पशुबिमा कार्यक्रम प्रभावकारी बन्दै
Thursday, November 19th, 2026, 6:01 pm
Kalpristha
कृष्ण केसी
बाँके, ३ मंसिर
बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा रहेको अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानको पशुधनको सुरक्षा र आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ। विगत नौ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त कार्यक्रमबाट क्षेत्रका सयौँ किसान लाभान्वित भएका छन्। अन्य बीमा कम्पनीमार्फत पशुबिमा गर्दा क्षति दाबी भुक्तानीका लागि लामो समय कुर्नुपर्ने तथा उचित क्षतिपूर्ति नपाउने समस्या देखिएपछि सहकारीले आफ्ना सदस्य किसानलाई लक्षित गरी पशुधन सुरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको हो।
सहकारीले आर्थिक वर्ष २०८३र८४ मा गाई तथा भैँसी गरी कुल २ हजार ५०० पशुको बीमा गर्ने लक्ष्य लिएको छ। कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन पशुप्राविधिक खेमराज खनाललाई कार्यक्षेत्रमा खटाइएको संस्थाले जनाएको छ।
कार्यक्रमअन्तर्गत गाई तथा भैँसीको प्रत्यक्ष मूल्याङ्कन गरी प्रतिलाख रुपैयाँ बराबरको पशुधनका लागि एक वर्षको बीमा प्रिमियमबापत किसानले १ हजार २५० रुपैयाँ मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, बीमा गरिएको पशुको मृत्यु भएमा आवश्यक प्रक्रिया पूरा गरी १५ दिनभित्र बीमाङ्कित रकमको ७० प्रतिशत राहतस्वरूप भुक्तानी गर्ने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ। यसले पशु क्षतिका कारण आर्थिक समस्यामा पर्ने किसानलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।
किसानमैत्री अवधारणाअनुसार सञ्चालन गरिएको यस कार्यक्रमले पशुपालन व्यवसायमा देखिने आर्थिक जोखिम कम गर्नुका साथै किसानलाई पशुधन सुरक्षणप्रति प्रोत्साहित गरेको छ। सहकारीको यस पहलले राप्ती सोनारी गाउँपालिकामा पशुपालन व्यवसायलाई थप सुरक्षित, व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।