रोनाल्डो र कीर्तिमान
Monday, June 28th, 2021, 1:48 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, १४ असार
‘साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा’, भन्ने समाचार सबै जसो अनलाईन खबरमा हेडलाईन बनेको छ । क्रिस्टियानो रोनोल्डोले बेल्जियम विरुद्ध गोल गर्दै इरानी लिजेन्ड अली दाइसँगको बराबरी कीर्तिमान भंग गर्लान भन्ने धेरैको अनुमानविपरीत पोर्चुगलको १६ आंै संस्करणको युरोकप यात्रा क्वाटरफाइनलमै सीमित बनेको छ । बेल्जियमसँग १–० ले रोकिँदा क्रिस्टियानो रोनाल्डाको जादुमय खेल हेर्न चाहने लाखौं खेलप्रेमीहरुको चाहनामाथि कुठाराघात भएको छ ।
लुइस फिगोको सन्यासपछि उदाएका क्रिस्टियानो रोनाल्डो ः
सन् २००४ को सेमिफाइनलमा ग्रिसबिरुद्ध खेल गुमाएसँगै पोर्चुगलका लिजेन्ड लुइस फिगोले अन्तरराष्ट्रिय खेल जीवनबाट सन्यास लिए । उनको सन्यास घोषणासँगै उदाएका उनै क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा समर्थक दबदबा बनाउन सफल बने ।
रोनोल्डो नामाकरणको रोचक प्रसंग ः
फेब्रुअरी ५, १९८५ मा पोर्चुगलको फुलचल, मडेरियामा जन्मिएका क्रिस्टियानो रोनाल्डाको पूरा नाम क्रिस्टियानो रोनाल्डो डस सान्तोस एभिरियो हो । रोनाल्डाका पिता जोस डेनिस एभिरियो हलिउडका नायक रोनाल्ड रेगनका ठूलो समर्थक थिए । रोनाल्ड रेगन पछि गएर अमेरिकाको राष्ट्रपति बने । पिताको मन पर्ने नायक तथा राष्ट्रपतिको सम्मानमा उनका पिता जोस डेनिसले उनको नाममा रोनाल्डो थपिदिएका हुन् ।
व्यावसायिक फुटबलमा रोनाल्डोको फड्को ः
सन् २००२–२००३ युथ फुटबलमा उनले देखाएको प्रदर्शनले उनको फुटबल करियर एका एक उकालो लाग्न थाल्यो । सन् २००२ मा डेसपोर्टीभोबाट पहिलो व्यावसायिक खेल जीवन शुरु गरेका रोनाल्डो सोही वर्ष उनी स्पोटिङ क्लब डी पोर्चुगलमा स्थानान्तरण भए । स्पोटिङ क्लबबाट खेल्दाको उनको प्रदर्शनले युरोपकै ठूला क्लबहरु उनलाई अनुबन्ध गर्न चाहे । यसमा इंग्ल्यान्डको इंगलिस प्रिमियम लिग क्लब मेनचेस्टर युनाईटेड उनलाई अनुबन्ध गर्न सफल बन्यो । उनी सन् २००३ मा मेनचेस्टर स्थानान्तरण भएसँगै उनका प्रशंसकको ओइरो लाग्न थाल्यो । उनकै सहयोगमा सन् २००८ मा मेनचेस्टर युनाईटेडले इंग्लिस प्रिमियम लिग जित्यो । रोनाल्डोलाई लामो समय मेनचेस्टरले रोक्न सकेन । पछि उनी कीर्तिमानी ट्रान्सफर रकममा स्पेनको रियल मेड्रिड गए । रियल मेड्रिडलाई एक पछि अर्को उपाधि दिलाउँदै उनी आप्mनो खेलमा जल्वा देखाउँदै गए । सन् २०१८–२०१९ को सिजनपश्चात् भने उनी इटालियन क्लब युभेन्टसमा आबद्ध भए ।
रोनाल्डोको कीर्तिमान शृंखला ः
पोर्चुगलका लागि युरोकपमा पाँचौ पटक खेल्दै गरेका रोनाल्डोलाई पहिलो खेलमा शुरुवाती एघारमा परेसँग कीर्तिमानको शृंखला बन्न शुरु गरेको हो । उमेरले छत्तीस वर्ष लागेका उनी खेल मैदानमा एउटा योद्धाको भूमिकामा देखिने गरेका छन् । उनको यही भूमिकाले सारा विश्वको आँखा उनीमाथि परेको छ । जब उनी गोल गर्छन्, कुनै रेकर्ड ब्रेक हुन्छ । गोल गर्ने बानी परिसकेका रोनाल्डो रेफ्रीले अन्तिम सिटी नफुक्दासम्म विपक्षी टोलीमाथि धावा बोलिरहेका हुन्छन् । उनी पेनाल्टी हान्छन्, गोल निस्कन्छ । उनको गोल संख्या बढ्छ । फेरि अर्को रेकर्ड बन्छ । लाग्छ, विश्व फुटबलको सेरोफेरोमा ‘रोनाल्डो’ र ‘कीर्तिमान’ भन्ने शब्द नै एक अर्कामा पर्यायवासी शब्द बनिसकेको छन् । उनले युरोकप र फिफा वल्र्डकपमा बनाएको कीर्तिमानको शृंखलालाई यसरी पछ्याउन सकिन्छ ।
पाँच संस्करणको युरोकप खेल्ने खेलाडीको कीर्तिमान ः
रोनाल्डोले पाँच फरक संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको दुर्लभ कीर्तिमान बनाउन सफल भएका छन् । युरोकपको ग्रुप स्टेजअन्तर्गत हंगेरीविरुद्ध रोनाल्डोले पाँच संस्करणको युरोकपमा सहभागिता जनाएको कीर्तिमान बनाएका हुन् । पोर्चुगलका सुपरस्टार रोनाल्डो पाँच फरक संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडीका नाम दर्ता गर्न सफल पाएसँगै उनको नाममा उक्त कीर्तिमान बनेको हो ।
रोनाल्डोले सन् २००४ मा पहिलो पल्ट युरोकपमा सहभागिता जनाएका हुन । त्यस यता २००८, २०१२, २०१६, २०२० मा लगातार सहभागिता जनाएका रोनाल्डोले सबै संस्करणमा गोल गरेका छन् ।
युरोको सबै संस्करणमा गोल गर्ने खेलाडीको कीर्तिमान ः
रोनाल्डो युरोकपको पाँच वटै संस्करणमा अविछिन्न रुपमा सहभागी भै सबै संस्करणमा लगातार गोल गर्ने खेलाडीको कीर्तिमान पनि उनको नाममा रह्यो । उनी सहभागी युरोको १२ औं संस्करणमा २ गोल र १३ औं, १४ औं, १५ औं र १६ औं संस्करणमा क्रमशः १, ३, ३ र ५ गोल गरी युरोकपमा पोर्चुगलका लागि उनले १४ गोलको योगदान गरेका छन् । जारी १६ औं युरोकपमा उनले जर्मनीविरुद्ध १ र हंगेरी र फ्रान्सविरुद्ध क्रमशः समान २–२ गोल गरेका हुन् ।
अन्तराष्ट्रियस्तरका ठूला प्रतियोगितामा सर्वाधिक गोल ः
क्रिस्टियानो रोनाल्डोले युरोकप र विश्वकपजस्ता दुबै ठूला प्रतियोगिताहरुमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । रोनाल्डोले जर्मनीका लिजेन्ड मिरोस्लाभ क्लाजको कीर्तिमानलाई उछिन्दै नयाँ रेकर्ड बनाएका हुन् । ग्रुप स्टेजअन्तर्गत फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले युरोकप र विश्वकप दुबैतर्फ गरी संयुक्त २१ औं गोल पूरा गर्दै क्लोजको नाममा रहेको उक्त कीर्तिमानलाई उछिनेका हुन् ।
उनको नाममा रहेको युरोकपको १४ गोल र विश्वकपको ७ गोलसमेत गरी संयुक्त रुपमा २१ गोल संख्या पुगेको हो । यसअघि युरो र विश्वकपमा जर्मनी खेलाडी क्लाजको नाममा १९ गोलको कीर्तिमान रहेको थियो । स्मरण रहोस, जर्मनीकै लिजेन्ड गर्ड मुलरको नामामा १८ गोलको तेस्रो स्थानको सर्वाधिक गोलकर्ताको कीर्तिमान कायमै रहेको छ ।
इरानका पूर्व स्टार अलि दाइको कीर्तिमानीमा बराबरी ः
क्रिस्टियानो रोनाल्डोले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने इरानका खेलाडी अली दाइसँगको कीर्तिमान बराबरी गरिसकेको परिप्रेक्ष्यमा बेल्जियमसँगको खेलमा पराजयसँगै गोल गर्न नसक्दा अर्को कीर्तिमान बनाउन उनी चुकेका छन् ।
सन् १९९३ देखि २००६ सम्म इरानका अली दाइले १०९ कीर्तिमानी गोल गरेका थिए । उनको फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै अलि दाइको १०९ अन्तर्राष्ट्रिय गोल रेकर्ड बराबरीको रेकर्ड बनाएका हुन् ।
युरोकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान ः
युरोकपको ग्रुप स्टेजको अन्तिम खेलमा फ्रान्सविरुद्ध खेल्दै रोनाल्डोले युरोकपमा फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान भंग गरेका हुन् । उनले १६ औं संस्करणको युरोकपमा ५ गोलसँगै अघिल्लो संस्करणमा गरेका ९ गोलसमेत गरी युरो कपमा उनको गोल संख्या १४ पुगेको हो ।
यससँगै युरोकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफनो नाममा राख्न उनी सफल बने । फ्रान्सेली स्टार प्लाटिनीले सन् १९८४ को युरोकपमा एकै संस्करणमा ९ गोल गरेको कीर्तिमान बनाएका छन् । नकआउट चरणमा बेल्जियमविरुद्धको खेल १–० ले गुमाएसँगै रोनाल्डोलाई यस युरोकपमा प्लाटिनीले बनाएको सो कीर्तिमान भंग गर्ने अवसरमाथि तुषारापात भएको छ ।
सामाजिक संजालमा रोनाल्डोको बढ्दो लोकप्रियता ः
इटालीको चर्चित क्लब युभेन्ट्समा रमाइरहेका रोनाल्डोका सामाजिक संजालमा तीन सय मिलियन बढी फलोवर्स छन् । यसले पनि उनको लोकप्रियताको ग्राफले कति उचाइ लिएको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । देशको लागि खेल्न मैदान प्रवेश गर्दा होस या गोल निस्कदाको क्षण । हरेक पटक उनको सेलब्रेसन गर्ने शैली सबैको लागि प्रेरणादायी बनेको छ । नेपाली फुटबलका शीर्ष खेलाडी अमिर श्रेष्ठ होस् या कनिष्ट खेलाडी रजत तिवारी । उनीहरुले गोल सेलेब्रेशन गर्दा क्रिस्टियानो रोनाल्डो अर्थात् सी.आर.सेभेनले जस्तै मैदानमा सेलेब्रेसन गरेका तस्बिरहरु फेसबुक तथा इन्स्टाग्राममा भाइरल बनेका हुन्छन् । यसले पनि क्रिस्टियानो रोनाल्डोप्रतिको लोकप्रियता र सम्मानलाई झल्काउँछ ।
रोनाल्डोको आगामी अवसर र सम्भावनाहरु ः
बेल्जियसँग पराजित भएसँगै रोनाल्डाको युरोकप यात्रा सकिए पनि देशका लागि ठूलो उपाधि दिलाउने अन्तिम अवसरको रुपमा आगामी फिफा विश्वकपको सम्भावना जिवितै छ । आक्रमक सेन्टर फरवार्ड रोनाल्डो युरोमा के भयो भनेर पछाडि फर्केर हेर्न चाँदैनन् । उनी अब के गर्ने भन्ने सोच्छन् । पक्कै पनि उनको अबको तयारी पीडालाई शक्तिमा बदल्ने हुनेछ । यसको लागि उनी हरेक चुनौती र सम्भावनाहरुको खोजी गर्दै अगाडि बढ्दै जानेछन् । यसरी नै उनको सफलताको लामा शृंखलाहरु जोडिदै जानेछन् ।