सबै सडक पिच गर्ने अभियानमा नरैनापुर
Monday, June 28th, 2021, 7:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ असार
सुगम जिल्ला बाँकेको यस्तो स्थानीय तह, जहाँ ४ वर्ष पहिले एक मिटर पनि पक्की सडक थिएन । स्थानीयहरुले सदरमुकाम नेपालगन्ज पुग्न गर्नुपरेका संघर्ष मानिसहरुलाई कहानीजस्ता लाग्थे । वर्षायाममा बघौडा भनेर समेत चिचिने यस क्षेत्रको बाँकी जिल्लासँगको सम्बन्ध टुट्थ्यो । यस ठाउँको विकटतालाई हेरेर पत्रपत्रिकामा ‘बाँकेको कणर्ाली’ उपमापनि दिइयो ।
स्थानीय सरकारको पहिलो ४ वर्ष कार्यकालमा नरैनापुरले आफ्ना सबै तीता उपमाहरु सुन्नु नपर्ने स्थितिमा आइपुगेको छ । विशेषगरी नेपालगन्जदेखि नरैनापुरको कट्कुइँया जोड्ने ४४ किलोमिटर लामो हुलाकी सडक निर्माण पछि गाउँपालिकादुर्गमबाट सुगममा परिवर्तित भएको छ ।
जताततै हिलाम्मे बाटो भएको नरैनापुरसडक सञ्जालले घेरिँदैछ । गाउँगाउँमा नयाँ बाटाहरु बन्नुका साथै सडक विस्तारलाई अभियानकै रुपमा अघि बढाएको छ ।गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह आफ्नो पहिलो प्राथमिकता गाउँपालिकालाई सुगम बनाउनु रहेको र त्यसैअनुरुप कार्यक्रमहरु तय गरिएको बताउँछन् । जनप्रतिनिधि आएको चार वर्षको अवधिमा करिब २० किलोमिटर सडक पक्की बनेको छ । हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की सडक बनाउने योजना अन्तरगत ६ वटै वडामा पक्की सडकहरु निर्माण भइरहेका छन् । गाउँपालिकाका जनप्रतिनिधिलाई निर्वाचनका बेला मत माग्न जाने क्रममा सडक नभएकाले ट्रयाक्टरमा बसेर गाउँगाउँसम्म जानुपर्ने बाध्यता थियो । मुख्य सडकमध्ये धेरै सडकहरु कालोपत्रे तथा पीसीसी भइसकेका छन् । गाउँगाउँमा ६-६ मिटर फराकिला सडकहरु निर्माण गर्ने गाउँपालिकाको मापदण्ड छ ।
गाउँपालिकाभित्र नयाँ ट्रयाक खोलिएका सडकहरु ग्राभेल गर्ने, कच्ची सडकहरुलाई स्तरोन्नती गरेर ग्राभेल गर्ने र ग्राभेल भइसकेका सडकहरुलाई कालोपत्रे तथा पीपीसी गरेर पक्की बनाउने गाउँपालिकाको लक्ष्य छ ।त्यस्तै नाला तथा स्ल्याव कल्भर्ट निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । कच्ची बाटो भएको ठाउँमा सडक चौडा गरी नालीसहितको पक्की बनाउने र सडक नै नभएको ठाउँमा नयाँ सडक बनाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार भारतीय सडक भएर जानुपर्ने वडा नं २ रोशनपूर्वामा पनि गत वर्ष कच्ची सडक निर्माण गरिएको छ । यस बर्ष ग्राभेल बिछ्याएर सडक स्तरोन्नती गरिएको छ । नेपाली गाउँ भए पनि बाटो नहुँदा भारतीय भूमि भएर पुग्नुपर्ने रोशनपूर्वामा सडक निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयलाई सहज भएको छ ।
हुलाकी सडक बनेपछि नरैनापुरदेखि नेपालगन्जसम्मको सडक सम्पर्क सहज बनेको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडकहरु निर्माण भइसकेका छन् । आगामी वर्ष २०७८-८९ को नीति तथा कार्यक्रममा पनि गाउँपालिकाले ट्रयाक खोलिएका सबै सडकहरुलाई कालोपत्र गर्ने योजना तय गरेको छ ।
सडक सञ्जालले गाउँपालिकाका सबै वडा, गाउँ र बस्तीलाई नजोडेसम्म विकास सम्भव नहुने भएकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष शाहले बताए । हुलाकी सडक बनेपछि नरैनापुरदेखि नेपालगन्जसम्मको सडक सम्पर्क सहज बनेको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडकहरु निर्माण भइसकेका छन् । आगामी वर्ष २०७८-८९ को नीति तथा कार्यक्रममा पनि गाउँपालिकाले ट्रयाक खोलिएका सबै सडकहरुलाई कालोपत्र गर्ने योजना तय गरेको छ । स्थानीयको सहजताका लागि स्थानीय सरकारले वडाका सबै बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य अनुसार काम गरिरहेको छ ।
स्थानीय सरकारले वडाका प्रत्येक बस्तीबस्तीमा सडक सञ्जालसँग जोडिएपछि स्थानीयहरुले आफ्ना स्थानीय उत्पादनहरु बजारसम्म पुर्याउन सहज भएको छ भने उपभोग्य वस्तुको उपलब्धता पनि सुगम बनेको छ ।
बिजुली आएपछि
३० वर्षपहिलेगाडिएका विद्युत्का पोल झन्डै तीन दशकसम्म बेवारिसे बने । नरैनापुरबासीहरु पोल हेरेर दिक्क भैसकेका थिए । जावनीमा पोल गाडेको देखेका मानिसहरुका गाला चाउरीसकेका थिए । कतिपय बिजुली देख्ने सपना देख्दा देख्दै संसार छोडेर गइसकेका थिए । स्थानीय तहको निर्वाचनपछि गाउँमा बिजुली बत्ती र सडक निर्माणको बहस फेरि सुरु भयो । स्थानीय जनप्रतिनिधि र प्रदेश तथा संघीय सांसदहरु संयुक्त पहल सुरु भयो । आखिर पोलहरुमा करेन्ट दौडन थाल्यो ।
सढकजस्तै बिजुली बत्ति पुगेपछि नरैनापुरवासीका निराशा आशामा परिणत भएका छन् । बिजुली बत्ति आएपछि गाउँमै दुध संकलन केन्द्रहरु सन्चालनमा आएका छन् । यसबाट स्थानीय दुध किसानहरुको उत्पादले बजार पाएको छ । बिजुलीको अभावमा बन्द भएका बोरिङहरु पुनः चल्न थालेका छन् । व्यवसायीक कृषिदेखि उद्योगसम्मका योजनामा स्थानीयवासीको चासो बढेको छ । ‘बिजुली बत्ति आएसँग अब गाउँमा उद्योग स्थापनाको पहल सुरु गरेका छौं,’ गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने ।यद्धपी गाउँपालिकाका सबै वडामा बिजुली बत्ति पुग्न सकेको छैन । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८-८९ को नीति तथा कार्यक्रममा सामुदायिक विद्युतिकरणलाई प्राथमिकताका साथ पूरा गरिने उल्लेख गरेको छ ।