धानको उत्पादन वृद्धि गरेमात्रै समृद्धि प्राप्त हुन्छः मन्त्री नेम्वाङ
Tuesday, June 29th, 2021, 1:58 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, १५ असार
नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताएका हुन् ।
कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताए । देशको समृद्धिको मूल आधार कृषि क्षेत्र भएको उनले बताए ।
नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको मन्त्री नेम्वाङले बताए । सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको उनले उल्लेख गरे ।
धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनुपर्ने भए मन्त्रालय तयार रहेको पनि उनले बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गरे । मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उनले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताए । उनले कृषकको खेतबारीमै पुगेर धान सम्बन्धी अध्ययन, अनुसन्धान तथा कृषि सम्बन्धी शिक्षा पुर्याउनुपर्नेमा जोड दिए । सरकारले रासायनिक मलको कारखाना खोल्ने कामलाई अगाडी बढाएको उनले बताए । कृषिको विकास तथा विस्तारका लागि स्थानीय तहले कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने पनि उनले बताए ।