बाँकेमा ४५ र लुम्बिनी प्रदेशमा ४६ प्रतिशत खेतमा धान रोपाई सकियो
Tuesday, June 29th, 2021, 2:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असार
असारको मध्यसम्म आइपुग्दा बाँकेमा ४५ प्रतिशत रोपाईं सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार बाँकेमा असार १५ गतेसम्म आइपुग्दा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । यसवर्ष असारको सुरुमै पानी परेका कारण र सिक्टा सिचाई आयोजनाको पानी उपलब्ध भएका कारण धान रोपाईंमा तीव्रता आएको ढकालले बताए । जिल्लामा सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा र राप्तिसोनारी गाउँपालिका क्षेत्रका धान रोपाईं भएको छ । रोपाईंका लागि जिल्लामा पानीको अभाव भने नरहेको ढकालले बताए ।
लुम्बिनी प्रदेशमा कुल धान रोपाईं हुने क्षेत्रफलको ४५.९४ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ भने देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने पनि उनले जानकारी दिए ।
सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।
कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ । कणर्ाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ ।
