दुई महिनापछि आन्तरिक हवाई उडान सुरु
Thursday, July 1st, 2021, 11:45 am
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १७ असार
कोभिड-१९ संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महिनापछि बिहीबारदेखि सुरु भएको छ ।
मन्त्रिपरिषद्को निणर्य अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि आन्तरिक उडान नियमित रुपमा सुरु गर्ने निणर्य गरेको छ । उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ ।
बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ । नेपालगन्जका लागिमात्रै सात र धनगढीका लागि चारवटा उडान हुने छन् । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् ।
अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ । हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।