भानुभक्त जयन्तीको पूर्वसन्ध्यामा सिर्जना वाचन
Monday, July 12th, 2021, 10:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ असार
आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्तीको पूर्वसन्ध्यामा सोमबार सिर्जना वाचन गरिएको छ । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले उक्त कार्यक्रम जुम एपमार्फत् संचालन गरेको थियो । जसमा उपस्थित अतिथिले सिर्जना वाचन र भानुभक्तका योगदानका बारेमा स्मरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ भाषाविद् प्राध्यापक डा. टंकप्रसाद न्यौपानेले कवि भानुभक्तका बारेमा परिचर्चा गरेका थिए । साथै भानुभक्तको जीवनीका बारेमा शिक्षाप्रेमी ऋषिराम सापकोटाले प्रकाश पारेका थिए । कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका नेपालका सदस्य विमला शर्मा ढुंगाना, सदस्य ढुण्डीराज ढकाल, आजीवन सदस्य सीता अधिकारीलगायतले पनि रचना वाचन गरे ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल समिति केन्द्रका अध्यक्ष सुरेन्द्र लिम्बु, शिक्षासेवी ऋषिराम सापकोटा, साहित्यकार चरित्रा शाह, विनेसाम नेपाल शाखाका वरिस्ठ उपाध्यक्ष केवि पौडेल, भेरी साहित्य समाज महासचिव लेकप्रसाद प्याकुरेल, इन्दिरा गौतम, डा. नाजसिंह, मानबहादुर भण्डारी, भेरी साहित्य समाज बाँकेका अध्यक्ष बोधराज प्याकुरेललगायतको सहभागिता रहेको थियो ।