माधवकुमार नेपाललाई ओलीद्धारा गद्दारको संज्ञा, क्षमा दिन नसकिने भनाइ
Wednesday, July 14th, 2021, 3:52 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, ३० असार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै उनलाई क्षमा दिन नसकिने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफ्नो सरकार ढाल्न अगुवाइ गरेकोे भन्दै उनले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे । ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई गद्दार घोषणा गर्न र पार्टीबाट निकाल्न माग गर्दै नाराबाजी गरे । उनीहरुलाई रोक्दै अध्यक्ष ओलीले माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नरहेको बताए ।
समर्थकहरुलाई आफ्नो घरको बारदलीबाट सम्बोधन गरेका एमाले अध्यक्ष ओली आफूलाई प्रधानमन्त्रीबाट अकारण हटाइएको दाबी गरे । तर आफूले देशका लागि राम्रो काम गरेको र विकास गरेकाले ग्लानी नभएको निवर्तमान प्रधानमन्त्री ओलीले बताएका छन् ।
यसैबिच, ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । ओलीको बिदाइमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरेका थिए । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै मंगलबार साँझ नै कार्यभार सम्हालेका छन् ।