नवनियुक्त मन्त्रीहरुद्धारा पदभार ग्रहण, कसले के भने ?
Wednesday, July 14th, 2021, 5:32 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, ३० असार
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले बुधबार पदभार ग्रहण गरेका हुन् ।
गृहमन्त्री
नवनियुक्त गृहमन्त्री खाँणले पदभार ग्रहण गर्दै आर्थिक वर्ष २०७८/८९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर निणर्य लिने बताए । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको कार्यान्वयनलाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा वर्तमान सरकारले विज्ञ र प्रशासकहरुसँग सल्लाह गरी निणर्य लिने बताए । मन्त्री खाँणले कोभिड-१९ को विरुद्ध अग्रपंक्तिमा खट्ने व्यक्तिहरुको सुरक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भएको भन्दै उनीहरुको व्यवस्थापन गर्न र प्रोत्साहन भत्ता दिनका लागि सरकार गम्भिर रहेको पनि बताए । उनले व्यवस्थापिका संसद्लाई बढीभन्दा बढी सक्रिय बनाउनका लागि सरकारले भुमिका खेल्ने बताए । मन्त्री खाँणले केन्द्रीय विपद् व्यवस्थापन कोष मार्फत् पूर्वी नवलपरासी जिल्लामा बाढीपहिरोबाट क्षति भएकाहरुलाई राहत दिनका लागि जिल्ला विपत व्यवस्थापन कोषलाई तुरुन्तै २० लाख रुपैयाँ पठाउनेगरी फाइलमा पहिलो हस्ताक्षर गरेका छन् ।

अर्थमन्त्री
यस्तै, अर्थमन्त्री शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब रूपैयाँको सहमति दिनेसम्बन्धी निणर्य गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मंगलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निणर्य गरेको थियो । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ ।
अर्थमन्त्री शर्माले कोभिड-१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निणर्य गरेका छन् । जसअन्तर्गत संघीय अस्पतालका लागि ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ३७ करोड ३४ लाख ९० हजार रुपैयाँ वित्तीय हस्तान्तरण हुनेछ ।
सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार रूपैयाँ निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ५२ करोड ४४ लाख ४० हजार रूपैयाँ वित्तीय हस्तान्तरणसम्बन्धी निणर्य भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए ।

उर्जा मन्त्री
उर्जा मन्त्री भुषालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताइन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् । जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने बताइन् । बिजुली बत्ती बाल्नै नपाएकाहरुसम्म बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्ने र सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् । बिजुली बत्ती बाल्नै नपाएकाहरुसम्म बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्ने र सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् ।