मेडिकल कलेजका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आन्दोलन चर्किँदै
Saturday, July 17th, 2021, 8:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ असार
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु तलब भत्ताको माग गर्दै आन्दोलित बनेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले ३ महिनादेखि तलब भत्ता नपाएको, डाक्टरहरुले चार महिनाकै तलब नपाएको, नर्सिङ स्टाफ र कर्मचारीहरुले कोभिड भत्ता र खाजा भत्ता पनि नपाएकोे भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार र शनिबार उनीहरुले अस्पतालमा शान्तिपूणर् प्रदर्शनसमेत गरेका छन् । उनीहरुले शनिबार अस्पताल परिसरमा धर्ना दिँदै आफ्ना माग पूरा गराउन नाराबाजीसमेत गरेका थिए ।
हेर्नुहोस् भिडियो
तलबको माग गर्दा अस्पताल प्रशासनले उल्टै धम्क्याएपछि आन्दोलनमा उत्रिनुपरेको लर्ड बुद्ध एजुकेशन ऐकेडेमी कर्मचारी संगठनका उपाध्यक्ष सुमन गिरीले बताइन् । कर्मचारीहरुले प्रशासन, लेखा शाखा र एमडी कक्षमा तालाबन्दी गरेका छन् ।
आन्दोलनपछि पनि अस्पतालले माग सम्बोधनमा चासो देखाउनुको साटो धम्क्याउन खाजेको भन्दै उनीहरु उनीहरु थप आक्रोसित बनेका छन् । उपाध्यक्ष गिरीले भनिन्, ‘हाम्रो उदेश्य संस्थालाई अप्ठ्यारोमा पार्नु होइन । हामी अप्ठ्यारोमा पर्यौँ, काम गर्दापनि भोकै पर्यौँ भनेर सुनाउँदा उल्टै धम्क्याएपछि स्वतःस्फुर्त रुपमा कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।’ गिरीले कोरोना महामारीमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीप्रति अस्पतालले अन्याय गरेको बताइन् ।
कर्मचारीहरु अस्पतालले तलब भत्ता मात्रै ढिलो गरेको नभई सामाजिक सुरक्षा कोषमा स्वास्थ्यकर्मी र कर्मचारीको तलबबाट ११ प्रतिशत रकम कट्टा गरिए पनि कम्पनीको तर्फबाट २० प्रतिशत थप गरेर दाखिला गर्नुपर्नेमा त्यसो नगरिएकोसमेत बताउँछन् । १६ महिनादेखि सामाजिक सुरक्षा कोषमा रकम दाखिला नभएको पनि उपाध्यक्ष गिरीले बताइन् ।
अस्पताल प्रशासनले भने साउन पहिलो सातासम्म तलवभत्ता दिने बताएको छ । तर, उपाध्यक्ष गिरी यसपटकको आन्दोलन तलबका लागि मात्रै नभएको बताउँछिन् । ‘हाम्रा थुप्र्रै सुविधाहरु अस्पतालले दिन सकेको छैन । तर प्रशासन ती सुविधाका सम्बन्धमा कुरा गर्न चाहिरहेको छैन । यसपटकको आन्दोलन सबै अधिकारहरुको सुनिश्चितता नभएसम्म जारी रहने छ,’ गिरीले भनिन् । आइतबारबाट आन्दोलन थप चर्किने गिरीले बताइन् । अस्पतालको नियमित उपचारम असर नपर्नेगरी आन्दोलन झन् कडा हुँदै आजने गिरीको भनाइ छ ।
स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले एकमुष्ट तलवभत्ता पाउनु पर्ने माग गर्दै आएका छन् । अस्पतालले भने एकमुष्ट तलब भत्ता दिने अवस्था नरहेको बताउँदै आएको छ । अस्पतालका उपनिर्देशक श्याम शर्मा एक हप्ताभित्र एक महिनाको तलबभत्ता उपलब्ध गराइने बताउँछन् । अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलबभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको शर्माको तर्क छ । कर्मचारीहरु अस्पताल घाटामा छ भनेर कर्मचारीहरुको तलबसमेत नदिइनु घोर अन्याय भएको बताउँछन् ।