नेपालगन्ज भन्सारद्धारा लक्ष्यको ११९ प्रतिशत राजस्व संकलन
Saturday, July 17th, 2021, 8:58 pm
Kalpristha
प्रमुख भण्डारीले चोरी पैठारीमा कडाई, प्रशासनकि दक्षता, जाँचपासमा सुधारलगायतका कारणले चालू आर्थक वर्षको वार्षिक लक्ष्य सजिलै पूरा हुने अपेक्षा गरिएको बताएका छन् । उनले भन्सार कार्यालयले चोरी निकासीमा कडाई गर्नुका साथै सीमा नाकामा भन्सार गस्ती बढाइएको जानकारी दिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ साउन
नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ११९.३६ प्रतिशत बढी राजस्व संकलन गरेको छ । सुरुमा वार्षिक लक्ष्य १५ अर्ब १८ करोड ९२ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएकोमा पछि संशोधन गरेर १७ अर्ब ७८ करोड २२ हजार ९५ रुपैयाँ पुर्याइएको थियो । लक्ष्यमा बढाइए पनि भन्सार कार्यालयले ११९.३६ प्रतिशत अर्थात २१ अर्ब २२ करोड ४७ हजार ५५ रुपैयाँ संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा कूल लक्ष्यको ७६ दशमलव २५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
कोभिडको प्रभावलाई ध्यानमा राखेर गत आर्थिक वर्षको वार्षिक लक्ष्य भने अघिल्लो आर्थिक वर्षको भन्दा करिब २४ करोड ८२ लाख ४९ हजार रुपैयाँ घटाएर १५ अर्ब १८ करोड ९२ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको थियो । तर आर्थिक वर्षको पहिलो सात महिनामै अघिल्लो आर्थिक वर्षभन्दा बढी राजस्व असुली गरेपछि वार्षिक लक्ष्य संशोधन गरिएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार गत आर्थिक वर्षको अन्तिम महिना असारमा १ अर्ब ३४ करोड ८० हजार ८३ रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा १३३.८५ प्रतिशत अर्थात् १ अर्ब ८० करोड ५५ लाख ७३ हजार रुपैयाँ संकलन गरेको छ । लक्ष्य बढाउँदा पनि त्यसभन्दा बढी संकलन भएपछि भन्सार विभागले नेपालगन्ज भन्सारलाई चालू आर्थिक वर्ष २०७८-७९ मा २५ अर्बभन्दा बढीको लक्ष्य दिएको छ । जुन गत आर्थिक वर्षको सुरुमा निर्धारण गरिएको लक्ष्यभन्दा झण्डै १० अर्ब बढी हुन आउँछ ।
नेपालगन्ज भन्सारले कार्यालयले आर्थिक वर्ष २०७६-७७ मा ११ अर्ब ७७ करोड आठ लाख २२ हजार रुपैयाँ राजस्व असुली गरेकोमा गत आर्थिक वर्ष २०७७-७८ को पहिलो सात महिनामै त्यसको दुई प्रतिशतले बढी ११ अर्ब ९८ करोड १० लाख २२ हजार रुपैयाँ असुली गरिसकेको थियो । त्यसपछि विभागले लक्ष्य संसोधन गर्दै करिब साढे एक अर्ब थपेर १७ अर्ब ७८ करोडबढी पुर्याएको थियो । उक्त लक्ष्य पनि पार गर्न भन्सार सफल भयो ।
अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा कोभिड-१९ का कारण राजस्व संकलन प्रभावित भएको भनिएपनि कोभिड आउनुभन्दा अघिका महिनामा पनि लक्ष्य पूरा हुन सकेको थिएन । गत आर्थिक वर्षका कुनैपनि महिनामा लक्ष्यभन्दा कम राजस्व असुली भएको थिएन ।
तत्कालिन लक्ष्यका आधारमा श्रावण महिनामा सबैभन्दा बढी लक्ष्यको एक सय ७७ दशमलव १३ प्रतिशत राजस्व असुली भएको थियो भने माघ महिनामा एक सय ६६ दशमलव ६८ प्रतिशत असुली भएको थियो । साथै पुष महिनामा एक सय ३८ दशमलव १९ प्रतिशत र भाद्र महिनामा एक सय ३७ दशमलव ३७ प्रतिशत असुली भएको भन्सारको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०७६-७७ मा असार महिनामा मात्रै लक्ष्यभन्दा बढी अर्थात् एक सय ११ दशमलव ६९ प्रतिशत राजस्व असुली भएको थियो । उक्त वर्ष कोभिड-१९ का कारण राजस्व संकलन प्रभावित भएको भनिएपनि कोभिड आउनुभन्दा अघिका महिनामा पनि लक्ष्य पूरा हुन सकेको थिएन ।
कसरी सुध्रियो भन्सार संकलन ?
नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत भण्डारी चुस्त व्यवस्थापनका कारण नै राजस्व संकलनमा वृद्धि भएको बताउँछन् । ॅयतिबेला न ठूलो संख्यामा उद्योगहरु स्थापना भएका छन् । न ठूलो संख्यामा आयात बढेको छ । आयातको मात्रा उस्तै भएपनि राजस्व बढ्नुले हामीले व्यवस्थापन चुस्त बनाएको पुष्टि गर्छ,’ भण्डारीले भने । प्रमुख भण्डारीले चोरी पैठारीमा कडाई, प्रशासनकि दक्षता, जाँचपासमा सुधारलगायतका कारणले चालू आर्थक वर्षको वार्षिक लक्ष्य सजिलै पूरा हुने अपेक्षा गरिएको बताएका छन् । उनले भन्सार कार्यालयले चोरी निकासीमा कडाई गर्नुका साथै सीमा नाकामा भन्सार गस्ती बढाइएको जानकारी दिए । इमान्दारीपूर्वक काम गर्ने हो भने लक्ष्य पूरा गर्न कुनै कठिनाई नहुने पनि भण्डारीले बताए । भन्सारले एकपटक यात्रु शाखालाई पनि सक्रिय बनाएको थियो । तर, उक्त शाखाको चुस्त व्यवस्थापन गर्न नसकिएको भण्डारीले स्वीकारे । यात्रु शाखालाई चुस्त बनाउन संरचना र साधन दुवैको अभाव रहेको उनको भनाइ छ ।
नेपालगन्ज भन्सार हुँदै भारतबाट आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, उद्योगधन्दाका लागि चाहिने कच्चा पदार्थ रहेको प्रमुख भन्सार भण्डारीले बताए । भण्डारीका अनुसार भन्सार नाकाबाट फलामका एंगल्स, पिलेट, क्लिंकर, जिप्सन, सिमेन्ट, कोइला बढी आयात हुन्छ ।
त्यसपछि चिनी र चामललगायतका खाद्य वस्तुहरुको आयात बढी हुने गरेको छ । चौथोमा कमर्सियल सामानहरु जस्तै टायल, मार्वल, चिनी आयात हुन्छ । यिनै वस्तुहरु राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुहरु रहेको भन्सारले जनाएको छ ।