महामारीको बेला सहकारीले समुदायलाई सहयोग गर्न सक्नु पर्छः प्रदिप चौधरी
Thursday, July 29th, 2021, 7:17 pm
Kalpristha
नेपालगन्जमा आर्थिक विकासको क्षेत्रसँगै सामाजि कार्यमा पनि सक्रिय सहकारी हो गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड । सहकारीले समृद्ध समाज निर्माणमात्र होइन विभिन्न सामाजिक कार्य गरेर समुदायमा लोकप्रियता कमाईरहेको छ । बिहिबार गुरुकुलले आफनो १२औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सामाजिक सेवा र सहकारीको बारेमा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरीसँग गरिएको कालपृष्ठ संवाद् ।
गुरुकुल सहकारीको १२औं वार्षिकोत्सव कस्तो भयो ?
हामीले गुरुकुल बचत तथा ऋण सहकारी संस्थाको १२औं जन्मोत्सव आज बृहतरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेर भब्यताका साथ मनाएका छौं । विशेषगरी कोभिड–१९ को महामारीमा नेपालभर रगत अभावका कारण नागरिकलाई समस्या नहोस भन्ने उद्देश्यका साथ फरक ढंगले बृहत रक्तदान कार्यक्रम आयोजना गरेर मनाएका हौं । रक्तदानमा ८१ जनाले रगत दिनु भयो ।
सहकारीले यो वर्ष कुन गतिमा काम गरिरहेको छ ?
आर्थिक रुपमा गुरुकुल संस्थाले पहिलाभन्दा फट्को मारेको छ । हामीले आर्थिक कार्ययोजना बनाइ सकेका छौं । आगामी दिनमा सेयर सदस्यलाई बढीभन्दा बढी मुनाफा दिन हामीले कोसिस गरिरहेका छौं । सेयर सदस्यलाई कसरी हुन्छ ऋण ब्याजदर कम गराउने तर्फ हामी केन्द्रित छौं । नेपाल सरकारले निर्धारण गरेको ऋणको ब्याजदर पनि निर्धारण गरेका छौं । कृषि, हायर प्रचेज, घर, व्यवसायी कर्जालगायतमा ऋण लगानी गरिरहेका छौं । त्यस्तै बचतमा पनि बाल बचत, महिला बचत, पेन्सन बचत, कर्मचारी बचत आदि निर्धारण गरेका छौं । सबै सिस्टम तथा टेक्नोलोजी आधुनिक छन् । आर्थिक पाटोलाई पूर्णरुपमा पारदर्शी बनाएका छौं ।
सेयर सदस्यहरुको आर्थिक अवस्थालाई सुधार गर्न अरु कस्ता योजना छन ?
हामीले सेयर सदस्यको आर्थिक उन्नति विकास गर्न सानो–सानो व्यवसाय सुरु गर्न घुम्ती संचालन गरेका छौं । हामीले सेयर सदस्यलाई कृषि गर्न पनि जोड दिएका छांै । कृषि गर्ने सेयर सदस्यलाई कम ब्याजको योजना ल्याएका छौं । हामीले सेयर सदस्यलाई सहकारीबाट कसरी फाइदा लिन सकिन्छ भनेर योजना बनाई घरदैलो गर्ने कार्यक्रम ल्याएका छौं ।
गुरुकुल सहकारीको आगामी चुनौति के–के हुन जस्तो लाग्छ ?
विशेष गरेर नेपालगन्जको परिवेसमा सहकारी क्षेत्र निकै व्यवसायीमुखी क्षेत्र बनेको छ । त्यसैले सहकारीलाई बजारमा छिराउन एकदमै चुनौति छ । सेयर सदस्यलाई गुरुकुल प्रति पूर्ण विश्वासको वातावरण बनाउन आवश्यक छ । जसका लागि गुरुकुलले सेयर सदस्यको हितका लागि सधैं काम गर्नु पर्छ । हामीले गुरुकुललाई बाँकेको नम्बर १ सहकारी बनाउनु पर्छ । विगतका समयमा आम–नागरिकबीच सहकारीले विश्वासको वातावरण गुमाएको थियो । त्यस्ता वातावरणलाई चिरेर गुरुकुल विश्वासीलो सहकारी हो भनेर बाँकेमा चिनाउनु छ ।
गुरुकुलले हालसम्म कस्ता–कस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ?
गुरुकुलले विगतका दिन देखिनै सामाजिक काममा आफ्नो सक्रियता देखाउँदै आई रहेको छ । आजपनि हामीले रक्तदान कार्यक्रम आयोजना ग¥यौं । त्यस्तै हरेक हप्ता हामीले सरसफाइ अभियान संचालन गरिरहेका छौं । त्यस्तै विभिन्न स्थानमा गुरुकुलले बेलाबेलामा स्वास्थ्य शिविर पनि संचालन गर्दै आई रहेको छ । महामारीको बेला सहकारीले समुदायलाई सहयोग गर्न सक्नु पर्छ ।
गुरुकुलको अबको लक्ष्य के छ ?
हाम्रो यस वर्षको लक्ष्य भनेको पहिलो पुँजीमा वृद्धि गर्नु हो । यस वर्ष १२ करोड पुँजी पु¥याउने लक्ष्य लिएका छौं । अहिले हाम्रो पुँजी आठ करोड छ । यसलाई बढाएर १२ करोड पु¥याउने लक्ष्य छ । त्यस्तै सदस्य संख्यामा पनि वृद्धि गरेर दुई हजार पाँच सय पु¥याउने लक्ष्य रहेको छ । लगानीमा पनि वृद्धि गरेर सेयर सदस्यलाई व्यवसायीमुखी बनाउने लक्ष्य लिएका छौं ।