गुरुकुलको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम
Thursday, July 29th, 2021, 9:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ साउन
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदानमा ८१ जनाले रगतदान गरेका छन । बिहिबार नेपालगन्जमा भएको रक्तदानमा गुरुकुलसँगै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र, नेपालगन्ज, लियो र लायन्स क्लबले रक्तदानमा सहयोग गरेका थिए ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिकोत्सवका अवसरमा आयोगित उक्त रक्तदान कार्यक्रममा नेपाल प्रहरी, नेपाल आर्मी, गुरुकुल बचतका कर्मचारी, पदाधिकारी लगायत विभिन्न निकायका व्यक्तिको सहभागिता रहेको थियो । आर्थिक कारोबारसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको गुरुकुलले कोभिड-१९ ले अप्ठयारो पारेको बेला रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष प्रदिप चौधरीले बताए ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी र विशिष्ट अतिथिका रुपमा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने पनि सहभागी भएका थिए ।