‘विद्यालय नखुल्दा विद्यार्थी मर्कामा’
Thursday, July 29th, 2021, 9:28 pm
Kalpristha
सौरभ राना
कोहलपुर, १४ साउन
कोरोना भाईरसका कारण जारी बन्दाबन्दीका कारण विद्यार्थीहरुमा मानसिक असर परिरहेकोले स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय संचालन गर्नुपर्नेमा सम्बद्धहरुले जोड दिएका छन् । कोहलपुर नगरपलिकामा बिहीबार भएको छलफलमा सहभागी विद्यालय सन्चालक एवं प्रधानाध्यापकहरुले राज्यले अन्य सबै क्षेत्र खुल्ला गरेर शिक्षण संस्थाहरु मात्र बन्द गर्नुको कुनै औचित्य नभएको बताए । उनीहरुले अनलाईन कक्षामा सबै विद्यार्थीहरुको पहुँच पुग्न सक्ने अवस्था नरहेकाले राज्यले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय संचालनको अनुमति दिनु उपयुक्त हुने बताएका छन् ।
साथै केहि विद्यालयहरुले नजिक घर भएका बालबालिकाहरु टोल कक्षामा सहभागी भएझै विद्यालयमा थोरै मात्रामा आएर केहि समय अध्ययन गरिरहेको उनीहरुले बताएका छन् । कोरोना महामारीको बेला संस्थागत विद्यालयहरुले निःशूल्क रुपमा विद्यालयका गाडिहरु स्थानिय सरकारलाई उपलब्ध गराएको, स्वास्थ्य सामग्री उपलब्ध गराएको स्मरण गराउँदै राज्यको नीति भित्र रहेर आफ्ना गतिविधिहरु संचालन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
छलफलमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर केसीले भने विद्यालयहरुले राज्यले लिएका नीति भित्र रहेको आफ्ना गतिविधिहरु गर्नुपर्ने भन्दै नीति नियम विपरित कार्य गरेको अवस्थामा कानून अनुसारको कारवाही हुने स्मरण गराए ।
छलफलमा बोल्दै कोहलपुर नगपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यार्थीहरुलाई कक्षा कोठामा सहभागि गराई पठन पाठन गराउन सक्ने अवस्था नरहेको बताए । साथै उनले कोहलपुर नगरपालिकाभित्रका विद्यार्थीहरुलाई वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड्नका लागि सबैको सहकार्य आवश्यक हुने पनि बताएका छन् ।