कोहलपुरका युवाहरुको उद्यम : हस्पिटल बेडसहित २७० आइटम उत्पादन
Friday, July 30th, 2021, 9:53 am
Kalpristha
उद्योग स्थापनासँगै दुधजन्य उद्योगका लागि आवश्यक पर्ने चिलिङ भ्याट लगायत डेरीका सामानहरु, मसला पिस्ने मिल, मह प्रशोधन गर्ने मिल, दुध बोक्ने ट्याङ्कर, पानी प्रशोधन गर्ने मेसिन उत्पादन सुरु भयो । उद्योगको औपचारिक उद्घाटन समेत नभएको करिब डेढ वर्षको अवधिमा दुई सय ७० आइटमहरु उत्पदान गर्नसक्ने क्षमतामा पुगिसकेको अध्यक्ष केसी बताउँछन् ।
वीरेन्द्र जैसी
नेपालगन्ज, १४ साउन
कोहलपुर-९ स्थित युनाईटेड एग्रो ईन्जिनियरिङ उद्योग कोरोना महामारीसँगै स्थापना भएको उद्योग हो । उद्योगको मुख्य उदेश्य कृषिसँग सम्बन्धित सामग्रीहरु उत्पादन गर्ने थियो । साथमा हस्पिटलका फर्निचरहरु पनि निर्माण गर्ने उद्योग सन्चालकहरुको सोच थियो । त्यो सोच समयको मागसँग संयोजन भएपछि उद्योगले अस्पतालका बेडहरु बनाउने काम सुरु गर्यो । उक्त काम संकटमा सुरु भएको एक आशा सन्चार गर्ने काम थियो । यसका साथै संकटका बेला समातिएको एक अवसर पनि ।
उद्योगका अध्यक्ष हुन् कोहलपुर-८ निवासी सतिस केसी । केसीको शैक्षिक अध्ययन भने कम्युटर ईन्जीनियरिङ हो । भारतको बैङलोरबाट कम्युटर ईन्जिनियरिङको पढाई पूरा गरेका केसीमा सानैदेखि व्यवसाय र उद्योगमा रुचि थियो । पढाइ सकेर फर्किएपछि उनले आफ्नो अध्ययनबाट सिकेको सीपभन्दा आफ्नो रुचिलाई पछ्याए । व्यापारिक पारिवारिक पृष्ठभूमिका केसीले संभावित व्यवसाय र उद्यमको खोजि सुरु गरे । साथीहरुसँग ५ महिना भारतका विभिन्न सहरहरु घुमे र आफ्नै क्षेत्रमा औद्योगिक संभावनाबारे अध्ययन गरे । उनको सोचमा उनका आफन्त सुरेश बुढाथोकीले साथ दिन तयार भए । व्यापक छलफलपछि नेपालमा कृषि क्षेत्रसँग सम्बन्धित मेसिन एवं साधनहरुको उत्पादन गर्ने सल्लाह भयो र युनाईटेड एग्रो ईन्जिनियरिङ उद्योगको खाकाले मुर्त रुप लियो ।
उद्योग स्थापनासँगै दुधजन्य उद्योगका लागि आवश्यक पर्ने चिलिङ भ्याट लगायत डेरीका सामानहरु, मसला पिस्ने मिल, मह प्रशोधन गर्ने मिल, दुध बोक्ने ट्याङ्कर, पानी प्रशोधन गर्ने मेसिन उत्पादन सुरु भयो । उद्योगको औपचारिक उद्घाटन समेत नभएको करिब डेढ वर्षको अवधिमा दुई सय ७० आइटमहरु उत्पदान गर्नसक्ने क्षमतामा पुगिसकेको अध्यक्ष केसी बताउँछन् ।
पहिलो लकडाउनमा मात्रै करिब ६ सय नर्मल हस्पिटल बेडहरु उत्पादन गरेको केसीले जानकारी दिए । पछिल्लो ६ महिनायता उद्योगले आइसियु लगायतका विशेष बेडहरुसमेत उत्पादन सुरु गरिरहेको छ । हाल अर्डरअनुसार उत्पादन गर्ने गरिएको केसीले बताए ।
हाल नेपालमा हस्पीटलका बेडहरु विशेषगरी भारत र चिनबाट ल्याउने गरिन्छ । ती देश बाट हुने आयात विस्थापन गर्न आफूहरुले हस्पिटल बेड निर्माण सुरु गरेको उद्योगका प्रवन्ध निर्देशक सुरेश बुढाथोकीको भनाई छ । भारत र चीनबाट प्रति बेड १५ हजारमा आयात गरिने गरेकामा आफुहरुले ९ हजारमा गुणस्तरीय बेड उत्पादन गरिरहेको केसीले जानकारी दिए । यद्धपि बेडका कच्चा पदार्थहरु भने बाहिरबाटै आयात गर्ने गरिन्छ ।
हाल नर्मल बेडसँगै हस्पिटलहरुका लागि आवश्यक आईसियु बेड र डेलीभरी बेडको माग आउन सुरु गरेको केसी बताउछन् । उक्त बेडहरुको माग आउन सुरु भएसंगै हाल नेपालमा नै उत्पादन नभइरहेका आइसियु बेड निर्माण सुरु गरेको बुढाथोकीको भनाई छ । सामग्री उत्पादनको आवश्यक प्राविधिक नेपालमा नरहेकाले भारतको कलकत्ताबाट प्राविधिक बोलाएर बेड निर्माणको काम भइरहेको छ ।
नेपालमै उत्पादन नहुने साधनहरु उत्पादन गरिँदा पनि सुरुवातमा स्थानीय सरकार र सम्बद्धहरुले साथ नदिएको केसी बताउँछन् । हालपनि कमसिनको लोभमा विदेशबाटै आयात गर्ने प्रवृत्ति रहेको केसी बताउँछन् । उनी भारतबाट आयात भन्दा पहिला नेपाली उत्पादनलाई प्राथमिकता दिइनुपर्ने बताउँछन् । यसका साथै रेडिमेड भन्दा कच्चा पदार्थको भन्सार बढी रहेकोले त्यसलाई पनि समायोजन गरिनुपर्ने उनको माग छ ।
धनगढी, दाङ र चितवनमा उद्योगका उत्पादन केन्द्रहरु पनि विस्तार गरिसकेको केसीले जानकारी दिए । अहिलेपनि देशको पुर्वदेखि पश्चिमसम्म र हिामलमा डोल्पासम्म उद्योगका उत्पादनहरु पुगिसेकेका उनले बताए । १५ जना कामदारबाट सुरु गरिएको उद्योगमा हाल ४० जना कामदारहरुले रोजगारी पाएका छन् ।
उद्योगका प्रवन्ध निर्देशक बुढाथोकी अहिले उद्योग मूल्यका साथै गुणस्तरमा पनि विदेशी उत्पादनलाई चुनौति दिने अवस्थामा पुगिसकेको दावी गर्छन् । युवाहरुले नै सुरु गरेको उद्योगले समातेको यो सफताको बाटोका पछाडि बुढाथोकी आफूहरुको गहिरो बजार अध्ययन, व्यवासायीक सोच कारण रहेको बताउँछन् ।
नेपालमा एकदमै कम बहुउत्पदानमा आधारित उद्योगहरुमध्ये आफूहरु एक रहेको बुढाथोकीले बताए । अबको मुख्य चुनौति मूल्य र गुणस्तरमा सामन्जस्यता कायम गर्नु, विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा, कच्चा पदार्थ रहेको उनले उल्लेख गरे ।
अबका दिनमा उद्योगलाई थप सशक्त र विस्तारित बनाउँदै नयाँ प्रविधिसँग अपग्रेड भइरहनेतर्फ केन्द्रित हुने बताए । उत्पदानलाई पनि बढाएर विदेशबाट हुने आयात प्रतिस्थापनमा भूमिका खेल्ने पनि उदेश्य रहेको उनले जानकारी दिए ।
नेपाली उत्पादनप्रति विश्वास र प्रेम प्रकट भएमा आफूहरुजस्ता उद्यममा केही गर्न चाहने युवाहरुलाई हौसला मिल्ने बुढाथोकीले बताए ।
अध्यक्ष केसी भन्छन्, ‘पैसा भन्दा हिम्मत ठूलो हो । आट्यो भने सफलता अनिवार्य प्राप्त हुन्छ । तर निरन्तरता आवश्यक छ ।’