बाँके प्रहरीले हत्या कसुरमा जाहेरी दर्ता गर्न मानेन
Sunday, August 1st, 2021, 9:58 am
Kalpristha
एसपी अधिकारी र अधिकारकर्मी बताउने खानबिचको यो टकरावको मारमा पीडित परेका छन् । एसपी अधिकारीले भने, ‘हत्याको जाहेरी मेरो मातहतमार्फत कुनै हालतमा दर्ता हुँदैन । अरु निकायबाट दर्ता गर्नु भनेर आयो भने मैले बाध्य भएर गर्नैपर्छ ।’
- घरेलु हिंसा खेप्दै आएकी धोबीको रहस्यमय मृत्यु
- माइती पक्षद्वारा हत्या आशंकामा मृतकका श्रीमान्माथि किटानी जाहेरी
- एसपी अधिकारी र अधिकारकर्मी खानबिचको टकरावमा पीडित झन् पीडित
- प्रहरीलाई छैन जाहेरी दर्ता नगर्ने अधिकार
वीरेन्द्र जैसी
नेपालगन्ज, ६ साउन
बाँकको जानकी गाउँपालिका-२ बेलभार अन्तर्गतको नेवाजी गाउँकी ३८ वर्षीया नन्कुनी धोबीको विहे भएको ५ वर्ष भइसकेको थियो । तर सन्तान हुन सकेको थिएन । दाइजो कम पाएको गुनासो गर्दै आएका उनका श्रीमान्ले छोराछोरी नभएको दोषसमेत नन्कुनीमाथि नै लगाउँदै कुटपिट र अनेक मानसिक यातना दिन थाले । नन्कुनीले आपूmमाथिको यातनाबारे माइतीलाई पनि जानकारी गराएकी थिइन् । उनका भाई माताप्रसाद धोबीले भने, ‘दिदीले लामो समयदेखि आफूमाथि अत्याचार हुँदै आएको दुःखेसो गर्दै आउनुभएको थियो । हामीले सम्झाई बुझाई गर्दै आएका थियौँ ।’ तर अन्तमा नन्कुनीमाथि हुँदै आएको हिंसाको दुःखद पटाक्षेप उनको रहस्यमय मृत्युमा आएर भयो ।
मंसिर ६ गते बिहान नन्कुनीको शव आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला पर्यो । नन्कुनीको शव झुण्डिएको कोठाको झ्यालबाहिर नन्कुनीका श्रीमान् रामकुमार धोबी सुतेका थिए । ५ गते साँझ १० बजेतिर भएको भनिएको घटना बाहिरपट्टि सुतेका श्रीमान् रामले बिहान मात्रै थाहा पाए रे । उनले बिहान आएर मात्रै प्रहरी र नन्कुनीका माइतीलाई सम्पर्क गरे ।
नन्कुनीका भाई माताप्रसाद दिदी झुण्डिएको कोठामा झुण्डिन सजिलो बनाउने कुनै चिज नराखिएको र कानबाट रगत बगेको आफूले देखेको बताउँछन् । यसका साथै पहिलेदेखि नन्कुनीमाथि हुँदै आएको अत्याचारका कारण उनले आत्महत्या नभई उनका श्रिमान्ले हत्या गरेको हुनसक्ने आशंकामा माताले ६ गते नै प्रहरीमा किटानी उजुरी दिए । तर प्रहरीले उजुरी दर्ता गर्न मानेन । प्रहरीले दावी गर्यो ‘यो आत्महत्या नै हो, हत्या गरिएको होइन ।’ पीडितले आशंका लागेमा प्रहरीमा उजुरी दिन पाउने अधिकारबाट उनीहरु वन्चित भए । जाहेरी दर्ता नगरेको बाँके प्रहरीले नन्कुनीका श्रीमान्लाई पक्राउ गरेर एक रातमात्रै राखेर छोडिदियो । ११ दिन बितिसक्दा पनि प्रहरीले हत्या कसुरमा मुद्धा दर्ता गर्न मानेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी भन्छन्, ‘हाम्रो अनुसन्धानबाट उक्त घटना शत प्रतिशत आत्महत्याको हो । आत्महत्या दुरुत्साहन कसुरमा निवेदन दर्ता गर्न आए तुरुन्त दर्ता हुन्छ ।’ प्रहरीको यो अड्डिले मृतकमाथि भएको अत्याचारबारे अनुसन्धान हुन पाएको छैन भने पीडितहरु पत्रकार गुहार्न पुगेका छन् ।
शनिबार नेपालगन्जमा पत्रकारहरुमाझ नन्कुनीका पिता छोट्टन धोवीले प्रहरीमाथि गम्भीर आरोप लगाए । उनका अनुसार आफूले मुचुल्का गर्दा नै छोरीको हत्या भएको भन्दै सहीछाप गर्न नमानेपछि प्रहरीले नियन्त्रणमा लिएर थुनिदिन्छु भन्दै जबरजस्ती सहीछाप गराएको थियो । यद्धपि जानकी-२ का वडाध्यक्ष चन्द्रीकाप्रसाद गुप्ताले उक्त दिन त्यस्तो घटना भएको आफूले नदखेको बताए । घटना भएको थाहा भएकै दिन दिइएको जाहेरी भने प्रहरीले दर्ता गरेन । छोट्टनले प्रहरी र अरोपित पीडक पक्षबिच अनुचित साँठगाँठ भएको आरोप पनि लगाए ।
हत्या आशंकाका आधार
नन्कुनमाथि रामले कुटपिट गर्ने, घरनिकाला गर्ने, प्राणघातक औषधिहरु दिँदै खाएर वा झुण्डिएर मरिहाल भन्ने र त्यसो नगरे आफैंले हत्या गरिदिने धम्की दिँदै आएका माइती पक्षको आरोप छ । नन्कुनीले त्यसबारेमा माइतीमा मात्रै नभई एक मानवअधिकारवादी संस्थासँग गुहार मागेकी थिइन् । छिमेकीहरुले पनि श्रीमान्बाट महिलाले यातना पाउँदै आएको बताएका छन् । प्रहरीले एकपटक रामलाई आइन्दा हिंसा नगर्ने सर्तमा मौखिक सहमति पनि गराएको उनका भाई माताले बताए । ‘जति अत्याचार भएपनि दिदीले म आत्महत्या गर्दिन भन्नुहुन्थ्यो । मृत फेला परेको दिन पनि श्रीमान्ले पुनः यातना दिन थालेको जानकारी गराउनुभएको थियो । फेरि आत्महत्या गर् भनेर धम्क्याउन थालेको बताउनुभएको थियो । तर म आत्महत्या गर्दिन भनेर त्यतिबेला पनि भन्नुभएको थियो,’ माताले भने । यीनै आधारमा आत्महत्या नभई हत्या भएको आशंकामा जाहेरी दिएको माइती पक्षको दावी छ ।
प्रहरीको तर्क के छ?
हत्या कसुरमा उजुरी दर्ता नगरेको बाँके प्रहरी जाहेरी दर्ता हुनु पहिले नै निष्कर्शमा पुगिसकेको छ कि उक्त घटना हत्याको नभई आत्महत्याको हो । जबकी पीडितले आशंकामा उजुरी दर्ता गर्न चाहेको अवस्थामा जाहेरी दर्ता गरेर विस्तृत अनुसन्धानपछि अदालतले उक्त विषयको टुंगो लगाउन सक्थ्यो । बाँके प्रहरी प्रमुख एसपी अधिकारी, घटनास्थलको मुचुल्का, शवको प्रकृति, शवको पोष्टमार्टम रिपोर्टका आधारमा आफूहरु आत्महत्या भएकोमा विश्वस्त भएको बताउँछन् । ‘यसरी हरेक घटनामा हत्याको मुद्धा दर्ता गर्दै जाने हो भने निर्दोषहरुले दुःख पाउँछन् । कसैलाई रिसिबी साँध्ने उदेश्यले जे पायो त्यही मुद्धा दर्ता गर्न सकिँदैन,’ अधिकारीले कालपृष्ठसँग भने । उनले आफूहरुको निणर्यमा चित्त नबुझे सरकारी वकिलको कार्यालय वा हुलाकबाट मुद्धा दर्ता गर्न सुझाए ।
जाहेरी दर्ता नहुनुको वास्तविकता
प्रहरी भन्छ, घटनामा केही व्यक्ती र संस्थाहरु अनुचित लाभ लिने उदेश्यले खेल्न खोजे । एसपी अधिकारीको सिधा आरोप नन्कुनीको न्यायका लागि भन्दै पीडित माइती पक्षलाई साथ दिँदै आएकी अधिकारकर्मी रुबी खानतर्फ केन्द्रित थियो । खानले मुद्धालाई जबरजस्ती मोडेर र परिवारलाई उक्साएर बखेडा खडा गरेको अधिकारीले आरोप लगाए । खानले मुद्धा दर्ता नगरेको विषयलाई आफूभन्दा माथिल्ला निकायमा उजुरी गरिदिएको र आफूलाई अपमानित गर्न खोजेको अधिकारीले बताए । उनले खानमाथि पीडितका पक्षमा वकालत गरेको देखाएर अनुचित लाभ लिने गरेको आरोपसमेत लगाए । त्यसो भए खानलाई पक्राउ किन गर्नुहुन्न भन्ने प्रश्नमा अधिकारीले भने, ‘प्रमाण पुग्यो भने गर्छौँ ।’ यता खानले केहीदिनअघि नन्कुनीकै मुद्धामा प्रहरी कार्यालय पुग्दा एसपी अधिकारीले अपमानित गरेर कार्यालय परिसरबाहिर पठाएको बताइन् । एसपी अधिकारीले पनि उक्त घटना भएको स्वीकार गरे । एसपी अधिकारी र अधिकारकर्मी बताउने खानबिचको यो टकरावको मारमा पीडित परेका छन् । एसपी अधिकारीले भने, ‘हत्याको जाहेरी मेरो मातहतमार्फत कुनै हालतमा दर्ता हुँदैन । अरु निकायबाट दर्ता गर्नु भनेर आयो भने मैले बाध्य भएर गर्नैपर्छ ।’
के भन्छ कानुन ?
मुलुकी फौँजदारी कार्यविधि संहिता २०७४ मा प्रहरीले मुद्धा दर्ता गर्दिन भन्न पाउँने व्यवस्था गरेको छैन । अधिवक्ता विश्वजित तिवारी जाहेरी दर्ता गर्ने नगर्ने प्रहरीको तजबिजी अधिकार नभएको बताउँछन् । ‘पीडितले दिएको जाहेरी प्रहरीले सम्मानपूर्वक दर्ता गरेर अनुसन्धान गर्नुपर्छ । फैसला दिने काम अदालतको हो,’ तिवारीले भने । प्रहरीले दर्ता गर्न नमानेमा अन्य निकायबाट पनि जाहेरी दर्ता गर्न पाउने व्यवस्था छ । संहिताको परिच्छेद २ को दफा ५ मा ‘जाहेरी दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सूचना गर्ने व्यक्तिले त्यस्तो व्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचन सहित उजुर गर्न सक्नेछ,’ भनिएको छ । त्यसपछि माथिल्लो निकायले दर्ता गर्न भनि आदेश दिएमा वा तोकिएको निकायबाट सूचना पाएमा उजुरीलाई प्रहरीले दर्ता गर्नुपर्ने व्यवस्था छ । यद्धपि पीडितहरुसँग यो विकल्प बाँकी नै छ । तर आम नागरिकले पहिलो दृष्टिमा चिन्ने निकाय प्रहरीले जाहेरी दर्ता गर्न नमान्नु चिन्ताको विषय भएको सम्बद्धहरुको भनाई छ ।