नेपालगन्ज-पोखरा नियमित उडान सुरु
Monday, August 2nd, 2021, 11:26 am
Kalpristha
नेपालगन्ज, १७ साउन
दीर्घप्रतिक्षित नेपालगन्ज-पोखरा नियमित हवाई उडान सुरु भएको छ । बुद्ध एयरले आईतबारदेखि नेपालगन्ज पोखरा दोहोरो हवाई उडान सुरु गरेको हो । बुद्ध एयरले अब हप्ताको तीन दिन आईतबार, बुधबार र शुक्रबार उडान भर्नेगरी नियमित हवाई उडान सुरु गरेको जनाएको छ ।
गत फागुन ७ गते शुक्रबार नेपालगन्जदेखि पोखरा विमान सेवा चार्डर उडान शुरु गरिएको थियो । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र पर्यटन प्रर्बद्धन मञ्च बाँकेको पहलमा नेपालगन्ज-पोखरा दोहोरो उडान सुरु भएको हो । नाट्टा बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमान चार्टर गरि उडान शुरु गरेको करिब ५ महिनापछि नियमित हवाई उडान सुरु भएको हो ।
पर्यटकीय सहर पोखरासँग हवाई मार्गबाट नियमित रुपमा जोडिएपछि यहाँको निजी क्षेत्र उत्साहित भएको छ । उक्त उत्साहको प्रस्पुटनस्वरुप आइतबार नेपालगन्जका व्यवसायीहरु विमानस्थल पुगेर पोखराबाट आएका यात्रु र विमानका पाइटल एवं कर्मचारीहरुलाई हरुलाई अबिर र फुलमालासहित स्वागत गरे भने जानेहरुलाई विदाई गरे । पर्यटकीय सहरसँग नियमित उडानले जोडिएपछि विशेषगरी नेपालगन्जका होटेल एवं पर्यटन सम्बद्ध व्यवसायिहरु उत्साहित भएका छन् । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले लामो प्रतिक्षापछि पोखरासँग नियमित जोडिन पाइएको र यस अवसरलाई सम्बद्ध सबै मिलेर जोगाउनुपर्ने बताए । होटल व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले अबको ध्यान उडानलाई दिगो बनाउनु र खुलेका संभावनालाई बृहत कसरी बनजाउने भन्नेतिर जानुपर्नेमा जोड दिए ।
पर्यटन प्रवद्र्धन मन्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जलाई पर्यटनको हब बनाउन हवाई उडान महत्वपूणर् साधन साबित हुने बताए । उडानले कोरोना महामारीले मारमा परेको पर्यटन क्षेत्रलाई माथि उकास्न मद्दत मिल्ने सम्बद्धहरु दाबी गरे । नेपालगन्ज उप-महानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाले वर्षौदेखि उडानको विषयमा चर्चा भए पनि विमान सेवा सुरु हुनुलाई ऐतिहासिक क्षणको रुपमा उल्लेख गरे । पोखरा घुम्न चाहने स्वदेशी र भारतीय पर्यटकका लागि सस्तोे र छोटो रुट नेपालगन्ज पोखरा हुने भन्दै उनले यसबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्रहरुको विकासमा ठूलो मद्दत पुग्ने बताए । मेयर राणाले अब नेपालगन्ज-दिल्ली उडानका लागि पहल गरिने पनि बताए । लामो समयदेखि बाँकेका पर्यटन सम्बद्ध व्यवसायीहरु नेपाल सरकारसँग नेपालगन्ज-पोखरा र पोखरा दिल्ली सिधा उडानको व्यवस्था गर्न माग गर्दै आएका छन् ।
हाल उडानको एकतर्फी भाडादर प्रतिब्यक्ति न्यूनतम चार हजार नौ सय ३५ रुपैयाँ, मध्यम पाँच हजार पाँच सय ६५ रुपैयाँ र अधिकतम सात हजार ६ सय ९५ रुपैयाँ तोकिएको छ ।
बुद्ध एउयरले नियमित उडानसँगै टुर प्याकेज पनि सार्वजनिक गरेको छ । प्याकेज अनुसार ११ हजार रुपैयाँमा नेपालगन्ज-पोखरा जान आउन, होटलमा २ रात बास, २ दिनको खाजा नास्ता र होटलदेखि एरपोर्टसम्म आउने जाने व्यवस्था गरिएकोछ । तर, यही प्याकेज अन्र्तगत पोखराबाट-नेपालगन्ज आउन चाहनेले १३ हजार ९०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । पोखराबाट यता आउनेले बाँके र बर्दियाको अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।
चार्टर विमानबाट उडान सुरुवात गरेपछि नेपालगन्ज-पोखरा-नेपालगन्ज हवाई उडानमा यात्रुको चाप उल्लेखनीय रुपमा बढेको थियो । बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाहले १८ सिट क्षमता भएका जहाजमा यात्रु संख्या बढ्दै गएपछि उडान संख्या पनि थपिने जानकारी दिए । शाहले कोरोना महामारीका कारण नियमित उडान तालिका केही पछि धकेलिएको पनि बताए ।