नेपालगन्जले स्थानीय पाठ्यक्रम बनाउने
Monday, August 2nd, 2021, 11:41 am
Kalpristha
खासगरी बाँकेजस्तो बहु-संस्कृति भएको जिल्लामा यहीँको वस्तुस्थिति, समाजिक अवस्था आदिको विषयमा ज्ञान दिने र स्थानीय आवश्यकताका आधारमा व्यवसायिक र प्राविधिक शिक्षा प्रदान गर्न पाठ्यक्रम आवश्यक रहेको शिक्षा सम्बद्धहरु बताउँछन् । तर स्थानीय तहको पहिलो कार्यकाल सकिन लाग्दा बाँकेका कुनै पनि स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेका छैनन् ।
वीरेन्द्र जैसी
नेपालगन्ज, १७ साउन
नेपालगन्ज उप-महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । उप-महानगरपालिकाले चालु आर्थिक वर्षमा स्थानीय पाठ्यक्रम निर्माण शिर्षकमा बजेट नै छुट्याएको छ । उप-महानगरपालिकाको शिक्षा शाखामार्फत एक लाख रुपैयाँ बजेट स्थानीय पाठ्यक्रम निर्माणका लागि भनेर छुट्याइएको छ । उक्त बजेटबाट चालु आर्थिक वर्षमा स्थानीय पाठ्यक्रम निर्माण गरिने शाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । उनले अघिल्ला वर्षदेखि नै स्थानीय पाठ्यक्रम निर्माणबारे छलफल हुँदै आएपनि त्यसले मुर्त रुप पाउन नसकेको बताए । ‘कहिले बजेट हुन्थेन कहिले कोरोनाले उपयुक्त अवसर दिएन,’ थापाले भने । यसवर्ष भने बजेट नै छुट्याइएको हुँदा संभवतः अर्को शैक्षिक सत्र आइपुग्दा पाठ्यक्रम तयार भइसक्ने थापाको भनाइ छ । तर त्यसका लागि छुट्याइएको बजेट भने पर्याप्त नभएको एक कर्मचारीले बताए । ‘यति बजेटले पाठ्यक्रम निर्माणको काम गर्नु सम्भव छैन । यसका लागि व्यापक छलफल र विज्ञहरुमा ठूलो रकम आवश्यक पर्छ,’ ती कर्मचारीले भने ।
पाठ्यक्रम कस्तो बनाउने ? र के विषय समेट्ने ? भन्ने कुरा सम्बद्ध र विज्ञसँग व्यापक छलफलपछि मात्रै टुंगो लाग्ने शाखाप्रमुख थापाले बताए । ‘पाठ्यक्रम निर्माणका लागि सम्बद्ध सबै पक्षसँग छलफल गर्छौँ । उहाँहरुको सुझाव र विज्ञहरुको निणर्यबाट पाठ्यक्रम निर्माण हुन्छ,’ थापाले भने ।
हालसम्म देशभरका विद्यालयहरुमा काठमाडौंमा बसेर तयार गरिएका पाठ्यक्रममा आधारित पुस्तकहरु पढाई हुँदै आएका छन् । त्यस्ता पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । खासगरी बाँकेजस्तो बहु-संस्कृति भएको जिल्लामा यहीँको वस्तुस्थिति, समाजिक अवस्था आदिको विषयमा ज्ञान दिने र स्थानीय आवश्यकताका आधारमा व्यवसायिक र प्राविधि शिक्षा प्रदान गर्न पाठ्यक्रम आवश्यक रहेको शिक्षा सम्बद्धहरु बताउँछन् । तर स्थानीय तहको पहिलो कार्यकाल सकिन लाग्दा बाँकेका कुनै पनि स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेका छैनन् । नेपालगन्जले अन्तमा आएर सुरसार सुरु गरेको छ । त्यो पनि न्यून बजेट छुट्याइएको छ । जिल्लाका अरु कुनैपनि स्थानीय तहले पाठ्यक्रम निर्माणतर्फ ध्यान दिएका छैनन् ।
विशेषगरी बाँकेको अवधि र थारु संस्कृति रहेका राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा स्थानीय पाठ्यक्रमको छुट्टै महत्व हुने शिक्षा सम्बद्धहरुको भनाई छ । अवकाशप्राप्त पूर्व प्रधानाध्यापक किरण आचार्य भन्छिन्, ‘स्थानीय पाठ्यक्रम निर्माण स्थानीय तहलाई प्राप्त भएको शिक्षा सुधारको सबैभन्दा शक्तिशाली अधिकार हो । यसको उपयोग गर्न नसकिरहेको मलाई लागेको छ ।’ आचार्यका विचारमा पाठ्यक्रम निर्माण गर्दा स्थानीय संस्कृति र भूगोलतिर मात्रै ध्यान नदिई बालबालिकालाई जीवनोपयोगी व्यवसायिक र प्राविधिक ज्ञान दिनेतिर ध्यान दिनुपर्ने बताउँछिन् । ‘हाम्रो अहिलेको मुख्य आवश्यकता जीवन निर्वाह गर्ने क्षमता प्रदान गर्ने शिक्षा बालबालिकालाई दिनु हो । केन्दी्रय पाठ्यक्रममा रहेको त्यो अभाव स्थानीय पाठ्यक्रममार्फत पुर्ति गर्न सकिने ठूलो अवसर छ,’ आचार्यले भनिन् ।
बर्दियामा ठाकुरद्धारा र बारबर्दिया नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरिसकेका छन् । ती पाठ्यक्रम पनि व्यवसायिक भन्दा सैद्धान्तिक ज्ञानमै आधारित छन् । देशका विभिन्न स्थानीइ तहहरुले आफ्नो स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गराइसकेका छन् । बाँकेका जनप्रतिनिधिमा यसप्रतिको बुझाई एवं चासोको अभाव र कर्मचारीहरुमा आवश्यक विज्ञताको कमिले सार्थकता पाउन नसकेको सम्बद्धहरुको भनाइ छ ।
के हो स्थानीय पाठ्यक्रम ?
नेपालको संविधान २०७२ ले हरेक नागरिकलाई आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । प्रचलित शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ ले प्राथमिक तहसम्म मातृभाषामा शिक्षा प्रदान गर्न सकिने कुरा उल्लेख गरेको छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १-३) तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४-५) ले प्राथमिक तहमा १०० पूणर्ाङ्कको स्थानीय विषय/मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीय स्तरबाट निर्माणगरी प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ ।
स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरकिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । यसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु हुनुपर्छ । जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सीपको मार्गदर्शन पहिल्याउन सहयोग गर्छ । स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूणर् खुट्किलाका रुपमा पनि लिन सकिन्छ ।