लुम्बिनी प्रदेश सांसद वली एमालेमै फर्किइन्
Monday, August 2nd, 2021, 4:31 pm
Kalpristha
कालपृष्ठ डेस्क
बुटवल, १८ साउन
लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली नेकपा एमालेमै फर्किएकी छन् । सोमबार विज्ञप्ति प्रकाशित गर्दै वलीले आफूले सूर्य चिह्नबाट चुनाव जितेको भन्दै एमालेमै फर्किएको बताएकी छन् । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।
वलीले विज्ञप्तिमा भनेकी छन् ‘नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’
दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित उत्तरकुमार ओलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ । प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् ।