नेपालगन्ज-२ को ७ ठाउँमा फ्रि वाईफाई
Tuesday, August 3rd, 2021, 3:48 pm
Kalpristha
अधिकांश वाईफाई चल्दैनन्।
वडाध्यक्ष हमालले चालू आर्थिक वर्षमा पनि थप स्थानमा वाइफाई जडान गर्ने जानकारी दिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ साउन
‘सुरुका एक महिना राम्ररी वाइफाई चल्यो । घरमा नेट सुविधा नभएका केटाकेटीले पढ्न पनि पाए । तर त्यसपछि बन्द भएको भयै भयो ।’ नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ का प्रेम वाल्मिकीले वडा कार्यालयले स्थानीय वाल्मिकी मन्दिरमा जोडेको वाइफाईको अवस्थाबारे अवगत गराउँदै भने । उनले उपलब्ध गराएको पासवर्ड राखेर वाईफाई सर्च गर्दा मोबाईलमा वाइफाई बन्द भएको संकेत देखायो । वाईफाई राखिएको सुरुका दिनमा घरमा नेटको सुविधा नभएका बालबालिकालाई विकल्प उपलब्ध भएको स्थानीय बताए । कोरोना महामारीका कारण भएको लकडाउनका बेला उक्त वाईफाई सेवाको आवश्यकता भएपनि नचल्दा आफूहरुका लागि कुनै लाभ नभएको स्थानीयहरुले बताए ।
यस्तै गुम्बा टोलस्थित शिव मन्दिरमा राखिएको सार्वजनिक फ्रि वाईफाई पनि जडान भएको दुई महिनामै बन्द भएको मन्दिरका पुजारीले बताए । ‘वाईफाईको चिन्ह देखाउँछ । तर काम गर्दैन । यस्तोभएको धेरै भइसक्यो,’ उनले भने ।
वडा नम्बर २ कै लोनियन टोलमा जडान गरिएको वाईफाई पनि आसपासका स्थानीयले प्रयोग गर्न नपाएको बताए । स्थानीय एक व्यक्तिको घरमा राखिएको वाइफाई घरकै आसपासमा समेत नचल्ने गरेको पाइयो ।
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ ले करिब ७ स्थानमा फ्रि वाइफाई जडान गरेको जनाएको छ । वडाको उक्त कामलाई उप-महानगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै प्रशंसा गर्दै अरु वडाले पनि अनुसरण गर्ने प्रयास गरिने उल्लेख गरिएको छ । वडामा पर्ने सार्वजनिक स्थल र आवश्यकता पहिचान भएका स्थानमा २ लाख बढीको लागतमा वाइफाई जडान गरिएको छ । बागेश्वरी मन्दिर, लोनियन टोल, गुम्बा टोल, हनुमान गढी मन्दीर, वाल्मिकी टोल, सामुदायिक सेवा केन्द्र र सेतु विक चोकमा फ्रि वाईफाई दिएको वडाध्यक्ष सुनिल सिंह हमालले जानकारी दिए । उनले उप-महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको काम सबैभन्दा पहिले आफूले गरेको बताए ।
वडाध्यक्ष हमालले चालू आर्थिक वर्षमा पनि थप स्थानमा वाइफाई जडान गर्ने जानकारी दिए । वडाको बजेटबाट थप स्थानमा पनि वाईफाई जडान गर्ने योजना बनाएका छौँ हमालले भने । वडाको प्रति एक सय मिटरमा वाईफाई जडान गर्ने आफ्नो योजनजा भएपनि विविध कारणले पूरा हुन नपाएको हमालले बताए । उनले थप स्थानमा वाईफाई जडान गर्ने भनेपनि भएका वाईफाई नै नचलेको पाइएको छ । कतिपय स्थानीयले फ्रि वाईफाई जडान भएकोबारे जानकारी पनि नपाएको बताए । स्थानीयहरुले वाईफाई बन्द भएको जानकारी गराएपनि समाधान नभएको बताए ।
वडाध्यक्ष हमाल बन्द भएका वाईफाईको क्षमता अभिवृद्धि गरिने र अहिलेको प्रयोगलाई सिकाईका रुपमा लिँदै अब थप प्रभावकारी बनाइने बताउँछन् । ‘कतिपय वाईफाईमा समस्या आएको जानकारी पाएको छु । अब उक्त समस्या समाधान गरी दीर्घकालिन र उपयोगी हुनेगरी थप स्थानमा वाईफाई जडान गर्छौं,’ उनले भने ।