कुलमान घिसिङलाई पुनः निर्देशक बनाइँदै
Tuesday, August 3rd, 2021, 6:30 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, १८ साउन
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्न उर्जामन्त्रीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको भेटमा सो निर्देशन दिएका हुन् ।
भेटमा सहभागी प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री भुसालले राजीनामा दिएर सहयोग गर्न आग्रहसमेत गरेकी छन् । कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् ।
प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ । कुलमान घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउबासँग छलफल गरेका थिए । अघिल्लो कार्यकालको कार्यम्पादनको आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक-पटक आग्रह गरेका थिए ।
तर, ओलीले प्रतिस्पर्धा प्रक्रियाको बहाना बनाएर घिसिङलाई नियुक्ति दिन अस्वीकार गरेका थिए । तर, शाक्यलाई भने ओलीले कुनै प्रतिस्पर्धा नै नगराई सोझै नियुक्ति दिएका थिए ।