फेरिपनि १५ जना संक्रमित थपिए
Tuesday, August 3rd, 2021, 8:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ साउन
बाँकेमा मंगलबार फेरि थप १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार थप पाँचजना महिला र १० जना पुरुषमा संक्रमण देखिएको हो ।
गत सोमबार पनि जिल्लामा १५ जनामा संक्रमण पुष्टि भएको थियो । साथै यसअघि गत साउन ११ गते पनि १५ जनामा संक्रमण पुष्टि केन्द्रले जनाएको थियो । केन्द्रको तथ्यांक हेर्दा जिल्लामा फेरि कोभिड–१९ को संक्रमण दर उकालो लागेको छ ।
जिल्लामा थप शून्य संक्रमितको मृत्यु भएको छ । यो साता जिल्लामा कुनैपनि संक्रमितको मुत्यु नभएको केन्द्रले जनाएको छ । साथै जिल्लामा थप एकजना महिला र दुईजना पुरुषगरी तीनजना संक्रमण मुक्त भएका छन् । हाल जिल्लामा संक्रमण मुक्तको संख्या भन्दा संक्रमित हुनेको संख्या धेरै रहेको छ ।
हालसम्मको तथ्यांक हेर्दा जिल्लामा कूल १७ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भई सकेको छ भने १७ हजार दुई सय ५३ जना संक्रमण मुक्त भएको केन्द्रले जनाएको छ । हालसम्म जिल्लामा तीन सय २२ जना संक्रमितको मृत्यु भई सकेको छ ।
देशभरमा भने थप तीन हजार तीन सय ८३ जनामो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ६ सय ३८ नमूना पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४८ मा संक्रमण देखिएको हो भने एन्टिजेन विधिबाट ६ हजार ८० परीक्षण गर्दा नौ सय ३५ मा संक्रमण देखिएको छ ।
हालसम्म सात लाख २० हजार ९७ जनामा संक्रमण पुष्टि भई सकेको छ ।
देरमा थप २४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या नौ हजार नौ सय २२ पुगेको छ ।
विभिन्न स्थानबाट एक हजार नौ सय ९४ जना कोरोना मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६० हजार एक सय १६ पुगेको छ ।