अब हाम्रो कार्यालय झोलामा छैन : ओली
Tuesday, August 3rd, 2021, 9:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ साउन
नेपाल प्रेस युनियन बाँके शाखाको कार्यालय स्थायीरुपमा नेपालगन्ज उप-महानगरपालिका-४ गणेशपुर रोडमा स्थापना गरिएको छ । युनियन बाँके शाखाको पहिलोपटक स्थायी कार्यालय स्थापना गरिएको अध्यक्ष अर्जुन ओलीले बताए । यसअघि युनियनको स्थायी कार्यालय थिएन ।
‘म युनियनको अध्यक्ष पदमा निर्वाचित भएलगत्तै कुनैपनि हालतमा हाम्रो स्थायी कार्यालय बनाउछु भनेर अठोट लिएको थिएँ । जहाँ इच्छा त्यहाँ उपाय भन्ने मेरो मान्यता भएकाले आफ्नै स्थायी कार्यालय खोल्न सक्षम भएका छौं । कार्यालय स्थापनामा सहयोग गर्ने सबै साथीहरुलाई धन्यवाद व्यक्त गर्न चाहान्छु,’ अध्यक्ष ओलीले भने ।
यसअघि युनियनको अस्थायीरुपमा केही महिना कार्यालय खोलिए पनि स्थायित्व पाएको थिएन । आवश्यकता आधारमा अस्थायीरुपमा कार्यालय सन्चालन हुँदै आएको थियो । ‘अधिकांश समय हाम्रो कार्यालय झोलामा नै हुन्थ्यो । म दुईपटक युनियनको सचिव भएर काम गरँे । तर पनि झोलामा कार्यालय सन्चालन गर्नुपर्ने बाध्यता अन्त्य भएन,’ उनले भने ।
युनियनले पहिलोपटक युनियनको आधिकारीक फोन नम्बर पनि जोडेको उनले जानकारी दिए । सुभेच्छुकहरुले आवश्यक सामानहरु सहयोग गरेका उनले बताए । ओलीले कार्यालयमा पत्रकारहरुले समाचार लेख्नका लागि उपयुक्त ठाउँको पनि व्यवस्था मिलाइने जानकारी दिएका छन् ।
उनले भने, ‘हामीसँग कम्प्युटर छ । नेट छ । थप केही कम्प्युटरहरु थप्दै छौं । कोहीपनि पत्रकारहरुले युनियनको अफिसमा आएर आफ्नो काम गर्न सक्नुहुन्छ । सामाचार लेख्न सक्नु हुन्छ ।’
‘प्रेस युनियनलाई आजको अवस्थामा ल्याउन पूर्वअध्यक्षहरुको ठूलो देन छ । उहाँहरुले यो संगठनलाई चिनाउन, विस्तार गर्न ठूलो सर्घष गर्नु भएको छ । उहाँहरुले गरेको सर्घषलाई मैले मात्र एक ठाउँमा व्यवस्थित गरेको हु,’ अध्यक्ष ओलीले भने ।