राप्ती सोनारीमा आर्यघाट र गौशाला बन्ने
Wednesday, August 4th, 2021, 8:30 am
Kalpristha
राप्ती सोनारी गाउँपालिका–२, समशेरगञ्जमा आर्यघाट र गौशाला निर्माण गरिने भएको छ । गाउँपालिकाले व्यवस्थित आर्यघाट र गौशाला निर्माणका लागि काम सुरु गरेको जनाएको छ ।
जिल्लाका आठमध्ये ६ वटा पालिकालाई पायक गर्ने स्थान समशेरगञ्जमा व्यवस्थित आर्यघाट निर्माण थालनी गरिएको पालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनले हालसम्म राप्ती सोनारीको अगैयामा शव व्यवस्थापन हुँदै आएकोमा अगैया पर्यटकीय स्थल भएको र निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पनि पर्ने भएकाले समशेरगञ्जमा व्यवस्थित आर्यघाट बनाउन थालिएको बताए । थारुले गाउँपालिकाको मास्टर प्लानमा गौशाला पनि रहेको बताए । हाल उक्त स्थानमा केही भवन बनिसकेका छन भने गाईहरु पनि राखिएको छ ।
आर्यघाट र गौशाला निर्माणबारे गत शनिबार बृहत छलफल भएको थियो । छलफलमा गाउँपालिकाका अध्यक्ष थारु, उपाध्यक्ष धनिकुमारी खत्री, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायत राप्ती सोनारीका विभिन्न वडाका वडा अध्यक्षसहित सुरक्षा निकायका अधिकारीबीच छलफल भएको थियो ।
जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले गाउँपालिकाले समशेरगञ्जमा बनाउन थालेको आर्यघाट र गौशालालाई पूर्णता दिने विषयमा छलफल भएको बताए । उनले यस विषयमा जिल्ला सभामा कुरा उठाउने प्रतिबद्धतासमेत जनाए । श्रीवास्तव संघ र प्रदेशलाई समेत योजनामा समेट्ने बताउँछन् ।