बाँकेमा करिब एक सय साना उद्योग बन्द
Wednesday, August 4th, 2021, 10:37 am
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, १९ साउन
कोहलपुरको पिपिरीका नरेश सुनारको पिपिरी चोकमा खानेबस्ने सुविधासहितको होटेल खुलेको करिब दुई वर्षमात्रै भएको थियो । आम्दानी पनि राम्रै भइरहेको थियो । ‘दिनमा चार पाँच हजारको व्यापार भइरहेको थियो । त्यो एक हिसाबले हाम्रा लागि राम्रै आम्दानी थियो । तर कोरोनाले सबैचिज ठप्प बनाइदियो । म आफैपनि संक्रमित भएपछि त झन् कठिन बन्यो,’ नरेशले भने । कोरोना महामारीले उनको उक्त व्यवसायलाई यसरी थला पार्यो कि अन्तमा आएर बन्द नै गर्नुपर्यो । होटल बन्द मात्रै भएन उनलाई पेशा परिवर्तन गर्नुपर्ने बाध्यता पनि आइलाग्यो । नरेशले होटलका सामान बेचेर अटोरिक्सा किने । उनी हाल कोहलपुरमा आटोरिक्सा चलाएर जीविकोपार्जनको विकल्प खोजिरहेका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित हुने पर्यटन उद्योग हो । पर्यटन उद्योगमा पनि साना होटलहरु कोरोनाबाट बढी प्रभावित भएका छन् । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेल संघमा आवद्ध ४६ वटा होटल विस्थापित भएको जानकारीमा आएको बताउँछन् । कोरोनाले प्रभावित गरेको पर्यटन उद्योगमा पनि सबैभन्दा बढी प्रभावित साना होटल व्यवसायीहरु रहेको कँडेलले बताए । ‘कतिले सस्तोमा बेचे, कतिले होटलका सामान नै बेचेर घरभाडा तिरे, कति लिलाम नै भए,’ कँडेलले भने । कँडेलले सरकारको बजेट र मौद्रिक नीतिमा व्यवस्था गरिएका राहतका कार्यक्रमले साना होटल व्यवसायीहरुलाई छुन नसकेको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेको तथ्यांकले पनि गत आर्थिक वर्षमा धेरै होटल व्यवसाय प्रभावित भएको देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा नौ वटा मात्रै होटलहरु बन्द भएकामा गत आर्थिक वर्ष २०७७-मा २५ वटा होटलहरु बन्द भएका छन् ।
आर्थिक वर्ष २०७६-७७ मा भन्दा २०७७-७८ मा बन्द भएका साना उद्योगको संख्या करिब अढाई गुणा बढी छ । ७६-७७ मा ३८ वटा उद्योग बन्द भएकामा ७७-७८ मा ९६ वटा उद्योग बन्द भएका छन् । बन्द हुने उद्योगमा सेवामूलक उद्योगपछि सबैभन्दा बढी पर्यटन सम्बन्धी उद्योग छन् । गत आर्थिक वर्षमा ३३ वटा सेवामूलक, २५ वटा पर्यटन, २३ वटा उत्पादनमूलक र १५ वटा कृषि तथा वनजन्य उद्योग बन्द भएका छन् । अधिकांश उद्योगीले उद्योग बन्द गर्नुका कारणमा घरायसी कारण उल्लेख गरेका छन् । कार्यालयका सूचना अधिकारी काशीलाल अधिकारी घरायसी कारणमा पनि अधिकांश कोरोनासँग जोडिएका कारण रहेको बताउँछन् ।
उद्योग दर्ता पनि अढाई गुणा बढी
घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा बन्द भएका उद्योगसँगै दर्ता दर्ता हुने उद्योगको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा नौ सय ३५ उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा दर्ता संख्या करिब अढाई गुणा बढी दुई हजार तीन सय ४१ रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय नाम रहेपनि हाल कार्यालयमा साना उद्योग मात्रै दर्ता हुने गरेका छन् । पाँच लाखसम्मको पुँजीका उद्योगहरु स्थानीय तहमै दर्ता हुने गरेका छन् भने त्यसभन्दा बढी लगानीका उद्योगहरु कार्यालयमा दर्ता हुने गरेका छन् ।
आर्थिक वर्ष २०७६-७७ मा कृषि र वनजन्य उद्योग तीन सय ९९, पर्यटन उद्योग एक सय ९९, उत्पादनमूलक उद्योग एक सय ९० र अन्य १४७ गरी नौ सय ३५ उद्योग दर्ता भएका थिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार दुई सय ७३, सेवामूलक चार सय ५२, उत्पादनमूलक तीन सय १४ र पर्यटन सम्बधी तीन सय दुई उद्योग दर्ता भएका छन् ।
यसरी उद्योग दर्ता हुनेक्रम बढ्नुमा लुम्बिनी प्रदेश सरकारले गरेको दर्ता दस्तुर छुटको योजनाले काम गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख उद्योग अधिकृत रमेश बुढाथोकीले प्रदेश सरकारको गत भदौ २३ गते गतदेखि लागू हुनेगरी घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूणर्रूपमा छुट गर्ने निणर्य गरेपछि उद्योग दर्ता हुने क्रम बढेको बताए । मानिसहरु कृषि तथा वनजन्य उद्योगप्रति बढी आकर्षित देखिएको पनि बुढाथोकीले उल्लेख गरे ।
कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले दर्ता दस्तुरमा पूणर्रूपमा छुट गर्ने निणर्य गरेको थियो । २० लाख रूपैयाँसम्मको पुँजीमा सञ्चालन हुने उद्योगको पाँच हजार रूपैयाँ, २० लाखदेखि ५० लाख रूपैयाँसम्मको १५ हजार रूपैयाँ र ५० लाखदेखि माथिको पुँजीमा सञ्चालन हुने उद्योग दर्ताको लागि २५ हजार रूपैयाँ दर्ता दस्तुर रहेको थियो । तर प्रदेश सरकारले दर्ता गर्दा लाग्ने सबै शुल्क छुट गरेको थियो ।