गृह मन्त्रालयको टोलीले दार्चुला घटनाको छानबिन थाल्यो
Wednesday, August 4th, 2021, 11:25 am
Kalpristha
कालपृष्ठ डेस्क
दार्चुला, २० साउन
महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले दार्चुला पुगेर काम सुरु गरेको छ ।
साउन १५ गते व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको उक्त टोलीले टोलीले धामी तुुइन तर्ने क्रममा घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग समेत भेट गर्नेछ भने घटनास्थलमै पुुगेर अध्ययन पनि गर्नेछ ।
दार्चुला सदरमुकामबाट पैदल हिँडेर घटनास्थल व्यास गाउँपालिका-२ को मालघाटसम्म पुुग्न दुुई दिन लाग्छ । व्यास गाउँपालिका-२ का तुुइन तरेर छोटो बाटो प्रयोग गरेर धामी भारतीय भूमि हुँदै सदरमुकाम आउने क्रममा १५ साउनमा नदीमा खसेर बेपत्ता भएका थिए ।
प्रत्यक्षदर्शीका भनाइमा भारतीय एसएसबीले तुुइन तर्ने क्रममा रुखमा बाँधेको फलामे डोरी फुुकालिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका थिए । घटना भएको पाँच दिन बित्दा समेत उनको अवस्था अज्ञात छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।
धामीका परिवारले भने उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर हिन्दूू संस्कारअनुसार अन्त्येष्टि गरिसकेकोे छ । धामीका श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरी छन् ।