कक्षा १२ को परीक्षा स्थगित हुने
Wednesday, August 4th, 2021, 12:45 pm
Kalpristha
कालपृष्ठ डेस्क
कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगित हुने भएका छन् । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै साउन ३१ गतेबाट तोकिएको कक्षा १२ को परीक्षा स्थिगत हुने भएको हो । सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा गरेका हुन् ।
‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजनाको बुँदा नम्बर ११ मा भनिएको छ । परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन । परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व निर्णय गरिने प्रतिबद्धतामा उल्लेख छ ।