पेण्डुलम जस्ती सांसद वली : फेरि फर्किइन् माओवादीमै
Wednesday, August 4th, 2021, 3:25 pm
Kalpristha
कालपृष्ठ डेस्क
बुटवल, २० साउन
लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले केही हप्तायता अनेक तिकडम गर्दै आएकी छन् । केही दिन सम्पर्कविहीन बनेकी वली कहिले एमाले त कहिले माओवादीमा आफूलाई प्रस्तुत गर्दै आएकी छन् ।
बुधबार वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् । उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् ।
दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको थियो ।
आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।
विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ । प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ ।