हितेन्द्र शर्तसहित प्राधिकरण छोड्न तयार
Wednesday, August 4th, 2021, 9:14 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौँ, २० साउन
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शर्तसहित प्राधिकरण छोड्न तयार रहेको बताएका छन् । उनले प्राधिकरण छोड्नका लागि विद्युत सम्बद्ध अर्को कुनै संस्था वा कम्पनीमा जिम्मेवारी दिनुपर्ने शर्त अघि सारेका छन् ।
नयाँ सरकार बनेसँगै शाक्यलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशक बनाउने तयारी गरिएको खबर बाहिर आएपछि शाक्यले सो शर्त सार्वजनिक गरेका हुन् । गत माघमा केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई बढीमा चार वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
बुधबार पत्रकारहरुसँग कुरा गर्दै शाक्यले आफू लामो समयदेखि प्राधिकरणभित्र ‘इन्जिनियरिङमा स्वावलम्बन’को उद्देश्यसहित काम गरिरहेको बताए । आवश्यकताअनुसार सरकाले आफूलाई अर्को जिम्मेवारी दिनुपर्ने उनले बताए ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यलाई कार्यकारी निर्देशकबाट विदा भएर सहयोग गर्न आग्रह गरेकी थिइन् । शाक्यले पनि सरकारले आफ्नो राजीनामा नमागेको, तर अर्को जिम्मेवारी दिन सकिन्छ कि भनेर सोधेको स्वीकार गरेका छन् ।
तर दोष देखाएर वा दण्डित गर्न नहुने भन्दै उनले पदमुक्त गरे नमान्ने संकेत गरेका छन् । सञ्चारकर्मीहरुको प्रश्नमा उनले भनेका छन्, ‘अन्याय भयो भने अदालत जाने हो, नत्र सरकारले दिने जिम्मेवारी शिरोधार्य गरेरै काम गर्छु ।’
बुधबार नै ऊर्जामन्त्री पम्फा भुसाललाई भेटेका कार्यकारी निर्देशक शाक्यले सम्मानजनक रुपमा अन्य कम्पनी वा ठूला आयोजनामा जिम्मा दिन माग गरेको स्रोतले बताएको छ । उनले विद्युत उत्पादन कम्पनी वा मन्त्रालय अन्तर्गत रहेका अन्य वैकल्पिक कम्पनी तथा संस्थाहरुमा जान चाहेको स्पष्ट संकेत गरेका छन् ।