चौपायाका घाँटीमा टल्किने स्टिकर
Wednesday, August 4th, 2021, 9:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० साउन
बाँकेमा पछिल्लो समय फेरि छाडा चौपायाहरु सडकमा देखिन थालेका छन् । चौपायाका कारण हुने सडक दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी रातीको समयमा चौपायाका कारण हुने दुर्घटनाको जोखिम सधैं रहने ट्राफिक प्रहरी बताउँछ । स्थानिय तह, ट्राफिक प्रहरी, प्रशासनका लागि छाडा पशु व्यवस्थापन सकसकै विषय रहँदै आएको छ ।
यसैबिच रातको समयमा हुने दुर्घट्ना कम गर्न ट्राफिक प्रहरीले छाडा चौपायामा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियान सुरु गरेको छ । रातीमा यात्रा गर्दा गाइबस्तुसँग भएका स्टिकर परैबाट टल्कने हुँदा दुर्घट्नाको जोखिम कम हुने आशा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले बाँकेमा लायन्स क्लब पन्चशिलसँगको सहकार्यमा पशुहरुको घाँटीमा टल्किने स्टिकर बाँध्ने काम सुरु भएको जानकारी दिए ।
यो अभियान बाँके मात्रै नभई लुम्बिनी प्रदेशका सबै जिल्लामा सुरु भएको भण्डारीले जानकारी दिए । ‘ प्रदेशका सबै जसो जिल्लामा यो अभियान सुरु गरिएको छ । छाडा गाइबस्तुहरुलाई टल्किने स्टिकर लगाइदिएपछि राती दुर्घट्नाको जोखिम कम हुन्छ भन्ने आशा गरिएको छ’ उनले भने । इन्सपेक्टर भण्डारीले स्टिकर लगाउने काम निरन्तर जारी रहने बताए । हालसम्म करिब ४ दर्जन चौपायामा स्टिकर लगाइएको उनले जानकारी दिए । यस अभियानले सवारी साधनको ठक्करबाट चौपायहरुको पनि मृत्यु हुने र घाइते हुने क्रम बढेको इन्स्पेक्टर भण्डारीले बताए ।
छाडा गाइबस्तुको कारण रातको समयमा दुर्घट्ना हुँदा लुम्बिनी प्रदेशमा बर्षेनी २० देखी ३० जनाले ज्यान गुमाउने गरेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसबाहेक थुप्रै यात्रु घाइते भएका छन् । लुम्बिनी प्रदेशमा २५ सयदेखी ३ हजार जति छाडा चौपाय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको अनुमान छ । सकभर सबै चौपायलाई स्टिकर लगाइदिने तयारी रहेको कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।