१६ वर्षपछि गुठीमा नयाँ नेतृत्व
Saturday, August 7th, 2021, 7:11 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, २३ साउन
शनिबार सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन भएको छ । नेपालगन्ज उप-महानगरपालिका-१७ मा रहेको उक्त गुठी इदगाह करबला व्यवस्थापन समितिले १६ वर्षपछि नयाँ कार्यसमिति पाएको हो ।
कार्यसमितिको अध्यक्षमा कौसर अलि बेहनालगायत ११ समितिलाई सर्वसम्मतरुपमा चयन गरिएको छ । समितिको उपाध्यक्षमा सज्जन अलि सल्मानी, सचिव इसाईल शेख र कोषाध्यक्षमा मन्सुर अलि दर्जी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मकसुद अलि दर्जी, रज्जब अलि बेहना, गजब्फर अलि दर्जी, रसिद अलि दर्जी, रफिक धोवी, आरिफ बागवान र अजयकुमार पाठक चयन भए ।
पूर्वअध्यक्ष इद्रिशीलाई विस्थापित
लामो समयसम्म अवैधानिक रुपमा व्यवस्थापन समिति संचालन गर्दै आइरहेको आरोप खेपेका पूर्वअध्यक्ष निजामुद्दिन इद्रिशीलाई समितिबाट विस्थापित गरिएको छ । उनलाई विस्थापित गर्दै नयाँ कार्यसमिति चयन भएको हो ।
स्थानीयले उनीप्रति हचुवाको भरमा काम गर्दै मस्जिदको आर्थिक रकम पनि हिनामिना गरेको आरोप लगाउँदै आएका थिए ।
यसअघि इद्रिशीले भने मस्जिदका नाममा रहेको १० विघा जग्गा र संरचना आफ्नो पुख्र्यौली सम्पत्ती हो भन्दै दाबी गर्दै आइरहेको नयाँ कार्यसमिति कोषाध्यक्ष दर्जीले बताए । दर्जीका अनुसार उक्त जग्गा ३० वर्षअघि नै मस्जिदको गुठीका नाममा आइसकेको थियो ।
ॅनिजामुद्दिन इद्रिशी ज्यूले यसअघि विद्यानविपरित काम गर्दै आइरहनु भएको थियो । व्यवस्थापन समितिलाई पनि दर्ता गर्नुभएको थिएन । मस्जिदको आर्थिक कारोबार पनि हिनामिना गर्नु भएको थियो । उहाँले मस्जिदलाई आफ्नै सम्पत्ती ठान्नु भएको थियो । धेरै मुस्लिम समुदायका व्यक्तिहरुले पनि पटक-पटक गुनासो गर्दै आइ रहनु भएको थियो,’ कोषाध्यक्ष दर्जीले भने ।
उक्त क्षेत्रमा धेरै विवाद आएपछि वडा नम्बर १७ का वडा अध्यक्ष अजयकुमार पाठकले समुदाय भेला गराएर नयाँ कार्यसमिति चयन गरेका हुन् । एकसय ५० जनाभन्दा बढीको उपस्थितिमा नयाँ कार्यसमिति चयन भएको दर्जीले जानकारी दिए ।
दर्जीका अनुसार नयाँ कार्यसमितिले पहिलो काम व्यवस्थापन समितिलाई विद्यानअनुरुप दर्ता गरेर काम अघि बढाउने छ । साथै मस्जिदमा रहेको इदगाहको अवस्था पनि जीणर् भएकाले समितिले इदगाह बनाउन पहल गर्ने दर्जीले बताए । जसमा वडाले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाएको दर्जीले जानकारी दिए ।