बनिसकेका लालपुर्जा थन्किए
Sunday, August 8th, 2021, 4:26 pm
Kalpristha
भूमिहीनमा निराशा
लिलाधर ओली
दाङ,२४ साउन ।
बबई गाउँपालिका-७ झारगजेरी निवासी धनीराम चौधरीले आफूले जोतभोग गरेको जग्गा प्राप्तीका लागि अहिलेसम्म चार पटक भुमिहीन सुकुम्वासी समस्या समाधान सम्बन्धी आयोगमा निवेदन दिए तर अहिलेसम्म जग्गा पाउन सकेका छैनन् ।
८९ बर्षीय वृद्ध धनिरामलाई आफुले २०२७ सालदेखि जोतभोग गर्दै आएको करिब दुई विगाह बढी जग्गा आफ्नो नाममा ल्याउने चाहना छ । तर पटक-पटक बनेका आयोगमा निवेदन दिने मात्र काम भएको छ जग्गा पाउन सकेका छैनन् । त्यसैका लागि उनले पटक-पटक निवेदन दिएर प्रयास गर्दै आएका छन् ।
तर यस पटक गाउँपालिकाबाटै अव्यवस्थित भूमिको समस्या समाधान गरी लालपूर्जा दिने व्यवस्था भएसँगै उनलाई पूर्जा पाउने आशा थियो । तर सरकारले भूमी सम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै उनको लालपूर्जा पाउने सपना हराएको छ । ‘जग्गाका लागि यसभन्दा अघि चार पटक घोराही पुगेर निवेदन दिएको थिएँ, तर निवेदन दिने मात्र काम भएको थियो,’ चौधरीले भने, ‘यसपटक निवेदनसँगै जग्गाको नापीसमेत भैसकेकाले जग्गाको लालपुर्जा पाउने आशा थियो । आयोग विगठन भएकाले अब पाइदैन भने लागेको छ ।’ उनले सरकारलाई आयोगमा जुनसुकै व्यक्तिलाई ल्याएर पनि आफू जस्ता भुमिहीन सुकुम्वासीहरुलाई जग्गाको पूर्जा उपलव्ध गराउन समेत आग्रह गरेका छन् ।
बबई गाउँपालिका-४ हस्तीनापुर निवासी शान्ति नेपालीले पनि आफुले २०४८ साल जोतभोग गर्दै आएको जग्गाको लालपूर्जाका लागि निवेदन दिएकी थिइन् । निवेदनअनुसार जग्गाको लागत लिने, नापी गर्नेसँगै लालपूर्जासमेत बनिसकेको छ । उनलाई पनि गाउँपालिकाले भदौ महिनाभित्र उपभोग गर्दै आएको जग्गाको पूर्जा पाउने आशा पलाएको थियो । तर उनी पनि अहिले निराश छिन् । ‘२६ वर्षदेखि जोतभोग गर्दै आएपनि जग्गा आफ्नो नाममा छैन,’ उनले भनिन्, ‘अब त पाइन्छ कि भन्ने आशा थियो । तर अहिले आयोग हटाएको भन्ने सुनेका छु । जग्गा फेरि पनि पाइदैन होला ।’
चौधरी र नेपाली प्रतिनिधिमुलक पात्र हुन । बर्षौसम्म जोतभोग गरेको जग्गाको लालपूर्जा प्राप्तीको आशामा बसेका धेरै जनता आयोगको खारेजीसँगै निराश बनेका छन् । उनीहरुले जसरी भएपनि आफूहरुको भूमिमाथिको स्वामित्वको हक हुनुुपर्ने बताएका छन् । गाउँपालिकामा ४ सय ५६ जनालाई जग्गाको लालपूर्जा दिने अन्तीम तयारी भैरहेको बेला आयोग खारेज भएपछि जनता निराश भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।
बबई गाउँपालिकामा बसोवास गर्ने १ हजार ८६ जना भुमिहिन सुकुमवासी परिवार मध्ये पहिलो चरणमा ४ सय ५६ जनालाई जग्गाको लालपूर्जा दिने गरी काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘बबई गाउँपालिकामा बसोवास गर्ने ४२ प्रतिशत जनता भुमिहिन अवस्था रहेका छन । उनीहरुलाई भुमिको मालिक बनाउने गरी अहिले काम भैरहेको थियो,’ गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘त्यहीअनुसार लगत संकलन गर्ने, जग्गाको नापी गर्ने, नक्सा तयारसँगै जनतालाई पूर्जा दिनका लागि छाप्ने काम भैरहेको थियो । तर आयोग खारेज भएपछि अहिले जनता निराश भएका छन् ।’
दाङमा अन्य स्थानीय तहहरुमा पनि भूमीसम्बन्धी समस्या समाधान आयोले काम तीव्ररुपमा अघि बढाएपनि बबई गाउँपालिकाले भने पहिलो चरणमा जग्गा उपलव्ध गराउनका लागि पूर्जा समेत छपाईको समेत काम सकिसकेको थियो । देवीप्रसाद ज्ञवाली अध्यक्ष रहेको आयोग विगटन गरेपछि सरकारले भने नयाँ आयोग बनाएर भूमि सम्वन्धी समस्या समाधान गर्ने बताएको छ