मालतीलाई वन तथा भू–संरक्षण विभागको सम्मान
Monday, August 9th, 2021, 8:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ साउन
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू-संरक्षण विभागले खजुरा गाउँपालिका- २, सी गाउँकी मालती खड्कालाई सम्मान गरेको छ । विभागले खड्कालाई वातावरण संरक्षणमा योगदान दिएको भन्दै सम्मान गरेको हो ।
सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा खड्कालाई सम्मान गरिएको हो । सम्मान पश्चात खड्काले संरक्षणमा लाग्दाको खुशी प्राप्त भएको बताइन् ।
उनले आफ्नो फेसबुकमा लेखेकी छन्,ॅसंरक्षणमा लाग्दाको खुशीः केही वर्षदेखि निजी वन हुर्काएर वातावरण संरक्षणमा जुट्दाको परिणाम आज नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भूसंरक्षण विभागले सम्मानित गरेको छ । यस अभियानमा मलाई साथ र सहयोग गर्नुहुने पुजनीय सासू आमा र ससुरा बुवा तथा आफन्तप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
केही वर्षदेखि निजी वन हुर्काएर वातावरण संरक्षणमा लागेका कारण उनलाई सरकारले सम्मान गरेको हो । सीतापुरमा रहेको पाँच बिघाभन्दा बढी पुख्र्यौली जमिनमा उनले ४० करोड लगानीमा ‘मालतीरुद्र कृषि फार्म’ सुरु गरेकी थिइन् ।
आफ्नै जमिनमा सुरुमा विभिन्न जातका चार हजार बिरुवा उनले रोपेकी थिइन् । करिब दुई बिघा जमिनमा बिरुवा रोपेपछि निजी वन दर्ता गरेर निजी वन संरक्षणमा उनी सक्रिय भएर लागिरहेकी छन् ।