बाँकेमा बढ्दो भ्रष्टाचार
Wednesday, August 11th, 2021, 9:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ साउन
गत आर्थिक वर्ष २०७७-७८ मा बाँके, बर्दिया, दाङ र रोल्पामध्ये सबैभन्दा धेरै भ्रष्टाचार सम्बन्धी उजुरीहरु बाँके जिल्लाका रहेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले गत वर्षको वार्षिक प्रगति सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो । बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको नेपालगन्ज सम्र्पक कार्यालयको जिम्मामा यही वैशाख महिनादेखि रोल्पा पनि परेको छ ।
कार्यालयमा बाँकेका कुल तीन सय ४४ उजुरी दर्ता हुँदा दाङमा दुई सय ४५, बर्दियाका एक सय ८० उजुरी, रोल्पाका सात वटा उजुरी परेका छन् । बाँकेका दुई सय २४ वटा उजुरीमाथि छानविन सम्पन्न हुँदा एक सय २० वटा उजुरी छानबिन हुन बाँकी रहेको छ । यस्तै दाङका एक सय ५१ वटा उजुरीमाथि छानबिन सम्पन्न भएको छ भने बर्दियामा एक २४ वटा र रोल्पाका ४ वटा उजुरीमाथि छानबिन सम्पन्न भएको छ ।
कार्यालयमा जम्मा सात सय ७६ वटा उजुरी परेकोमा पाँच सय तीन वटाको छानबिन सम्पन्न भएको कार्यालय प्रमुख कृष्ण कुमार निरौलाले जानकारी दिए । जुन कूल उजुरीको ६४.८१ प्रतिशत हुन आउँछ ।
कार्यालयमा सबैभन्दा धेरै स्थानीय तहका उजुरी परेका छन् । दुई सय ५२ वटा स्थानीय तहका उजुरी रहेकोमा एक सय ५४ वटा पछ्र्यौट भएको छ । स्थानीय तहका उजुरीमध्ये शिक्षाको उजुरी सबैभन्दा बढी छन् । शिक्षाका एक सय २१ वटा उजुरी परेकोमा ८२ वटा पछ्र्यौट भएका छन् । वन, भूमि व्यवस्था, सहकारी, गृहमन्त्रालय, भौतिक पूर्वाधा, स्वास्थ्य तथा जनसंख्या, प्रदेश सामाजिक विकास मन्त्रालय, खानेपानी, शहरी विकासका उजुरी धेरै रहेका छन् ।
सम्पर्क कार्यालय नेपालगन्जका अनुसार बढी रकम भुक्तानी गरेको र कम गुणस्तरीय काम गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरेको, नक्कली बिल भरपाई बनाएको, कर्मचारी भर्नामा अनियमितता गरेको, स्विकृत दरबन्दी विपरित भर्ना गरेको, नियुक्तिमा झुठा शैक्षिक प्रमाणपत्र पेश गरेको लगायतका विषयमा बढी उजुरी पर्ने गरेका कार्यालय प्रमुख निरौलाले बताए ।
कार्यालयले गत आर्थिक वर्षमा तीन वटा स्टिङ अपरेशन गरी विशेष अदालतमा मुद्धा दायर गरिएको जनाएको छ । नेपालगञ्जको भेरी अस्पताल र इलाका प्रहरी कार्यालय, खजुराखुर्दका प्रहरी नायव निरीक्षकविरुद्ध रहेको छ । दाङको मालपोत कार्यालय, तुलसीपुरका नासु र कार्यालय सहायकविरुद्ध पनि स्टिङ अपरेशन गरिएको थियो ।
पहिलो १० मा बाँकेमा पाँच स्थानीय तह
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले सार्वजनिक गरेको हालसम्म बाँकी रहेका उजुरीको आधारमा चार जिल्लाका १० स्थानीय तहमा बाँकेका पाँच स्थानीय तह रहेका छन् ।
बाँके, दाङ, बर्दिया र रोल्पाका ३६ स्थानीय तहमध्ये बढी उजुरी परेका १० स्थानीय तहको सुचीको नम्बर एकमा कोहलपुर नगरपालिका छ । हाल कायम रहेका कोहलपुर नगरपालिकासँग सम्बिन्धित १६ वटा उजुरी छन् भने दोस्रोमा बर्दियाको बढैयाताल, तेस्रोमा राप्तिसोनारी गाउँपालिका, चौथोमा नेपालगन्ज उप-महानगरपालिका र पाँचौमा दाङको तुलसीपुर उप-महानगरपालिका रहेका छन् । ती स्थानीय तहसँग सम्बन्धित क्रमशः १२, ११, १० उजुरी रहेका छन् ।
पहिलो दशको सुचिमा पर्ने बाँकेका अरु स्थानीय तहहरुमा जानकी गाउँपालिका र खजुरा गाउँपालिका रहेका छन् ।