रस्तोगीको नेतृत्वमा ‘विन’ बाँकेको नयाँ कार्यसमिति
Wednesday, August 11th, 2021, 9:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ साउन
निरुपमा रस्तोगीको अध्यक्षतामा महिला उद्यमी संघ, बाँके (विन बाँके) को १४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । संघको बुधबार सम्पन्न अठारौं वार्षिक साधारण सभा तथा अधिवेशसनले कायैसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सावित्री बस्नेत, द्धितिय उपाध्यक्षमा रेवती सिंह, तृतीय उपाध्यक्षमा आभा गौतम, महासचिवमा सुनिता पाण्डे, सचिवमा सरिता शाक्य, कोषाध्यक्षमा नितु शाह चन्द चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शशी स्वार, शोभा श्रेष्ठ, सावित्रा शर्मा, सुशिला शाह राणा, बिन्दु चर्तिमगर, निरु चौधरी र कालि मिया चयन भएका छन् ।
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अठारौं साधारण सभा अधिवेसनले कार्यसमिति चयन गरेको हो । निर्वाचनका क्रममा कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेपछि महिला उद्यमी संघ, नेपाल बाँकेको नयाँ नेतृत्व चयनमा सहजता भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अमृता के सीले जानकारी दिईन् ।
वि.सं.२०६० सालमा स्थापना भएको विन बाँकेले जिल्लाका महिला उद्यमी व्यवसायीहरुलाई आत्म निर्भर बनाई आफ्नो व्यवसाय संचालन गर्न गरी अर्थिक तथा समाजिक विकास गर्ने उद्देश्य कार्य गरिरहेको छ । महिला उद्यमी महासंघ नेपालका केन्द्रीय सदस्य तथा लुम्बीनी प्रदेशका संयोजक सरस्वती शर्मा पराजुलीले आफ्नै वा पारिवारिक वा समुहगत लगानीमा उद्योग तथा व्यापार व्यवसाय संचालन गर्न महिलाहरुलाई प्रोत्साहित गर्नु गराउनु् संघको उदेश्य रहेको बताइन् । यसैगरी स्थानीय महिला वर्गले परम्परागत वस्तुको प्रयोग आधुनिक सीप तथा प्रविधिबाट उत्पादन गरेका वस्तुहरु राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय बजारमा समेत पुर्याई नेपाल र नेपाली संस्कृति र राष्ट्रियताको पहिचान गराउन मद्दत गर्ने, छरिएर रहेका उद्यमी महिलाहरुलाई समन्वयात्मक ढंगबाट समुहमा एकबद्ध गरी आिर्थक सशक्तिकरण गर्न गराउनु लगायतका ११ ओटा उद्देश्यहरु राखी स्थापना गरिएको उनले जानकारी दिइन् ।
हाल विन बाँकेमा ६५ महिला उद्यमीहरु आबद्ध रहेका छन् । वार्षिक साधारण सभामा महिला उद्यमीको क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख राणा र सामाजिक विकास शाखा प्रमुख शोभा शाहलाई सम्मान समेत गरिएको थियो ।