आयस्रोत कम तर खर्च बढी छ : कक्षपति
Wednesday, August 11th, 2021, 10:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज,२७ साउन
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकाको आयस्रोत कम र जनताको चाहना बढी रहेको बताएका छन् । उनले पालिकामा प्राकृतिक स्रोतसाधनको कमी भएको र जनताबाट उठेको रकमबाट काम गर्नु परेको बताए ।
खजुरा गाउँपालिकामा बुधबार संचालन भएको सार्वजनिक सुनुवाईमा अध्यक्ष कक्षपतिले थोरै आयस्रोतबाट पालिकाले धेरै काम गरिरहेको बताए । उनले सार्वजनिक सुनुवाईमा पालिकाले गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उनले पालिकाले सामना गर्नु परेका चुनौतिका बारेमा समेत ब्याख्या गरे । उनले पालिकामा निर्माण हुने हरेक विकास निर्माणका काममा उपभोक्ता समिति भन्दा बाहेक अन्य जनसहभागिता नभएको र जनचासो पनि कम भएको बताए । उनले पालिकामा हुने हरेक कार्यमा जनताको चासो हुनुपर्ने बताए ।
ॅतपाईँको गाउँ टोलमा भएका जुनसुकै विकास निर्माणका काममा तपाईको चासो, आफ्नो पन हुन जरुरी छ,’ कक्षपतिले भने ।
खजुरामा संचालन भएको आर्थिक वर्ष २०७७/०७८ को अन्तिम सार्वजनिक सुनुवाई सुनुवाईमा नागरिकको उत्साहजनक सहभागिता रह्यो । साथै सरोकारवाला निकायलाई विकास निर्माण र सेवा प्रवाहबारे प्रश्न र जिज्ञासा पनि राखेका छन् ।
कक्षपतिले गाउँपालिकाका विषयगत शाखाले गरेको प्रगति, विकास निर्माण तथा सेवा प्रवाहबारे प्रतिवेदन प्रस्तुत गरेसँगै सहभागीले सडक, खानेपानी, बजेट परिचालन, सेवा प्रवाह, गाउँपालिका नजिक पर्यटकीय तलाउ, स्वास्थ्य चौकीमा औषधि, सरकारी सवारी कार्यालय समयपछि संचालन, कालोपत्रे स्तरीय भएनलगायतका प्रश्नहरु राखेका थिए । उनीहरुले राखेको प्रश्नको जवाफ दिँदै कक्षपतिले समृद्ध खजुराको सपना बोकेको आधार तय गरेर अगाडि बढेको तर पाँच वर्षभित्र समृद्ध नहुने सबै काम पूरा हुन नसक्ने बताए । उनले त्यसका लागि १५ वर्षे योजना तयार गरिएको जानकारी दिए ।
कक्षपतिले खजुराले तीन वर्ष पूरा हुँदा १०१ बुँदे चुनावी घोषणापत्र मध्ये ६८ बुँदा पूरा गरेको जानकारी दिँदै हाल ११ वटा गौरवका योजना संचालनमा रहेको, ग्रीन सिटीका लागि डिपिआर गरिएको बताए ।
कोभिडले खजुराको समृद्धिको सपना ओझेलमा पार्न खाजेपछि समग्रमा गत आर्थिक वर्षमा सन्तोषजनक प्रगति हासिल गरेको बताए । योजना अनुगमनबारे नागरिकको जिज्ञासामा उपाध्यक्ष एकमाया विकले योजना सम्झौताअनुसार काम भए नभएको प्राविधिकसहतिको टोलीले हेरेर मात्र प्रतिवेदन दिने गरेको बताइन् ।
वडा नम्बर ४ का वडाध्यक्ष तिलकवीर सुनारले आफ्नो वडाको बारेमा कालोपत्रे सडकबारे राखिएको जिज्ञासा मेटाउँदै कालोपत्रे सडक अपेक्षित छैनन् त्यसको प्रमुख कारण बजेट भएको उल्लेख गर्दै स्तरीयताका लागि प्रयासरत रहेको बताए ।
वडा नम्बर ३ का अध्यक्ष कान्तुराम गौतम कालोपत्रे बजेट अभावमा पूरा नभएको, खानेपानी समिति होइन तदर्थ समिति भएको र साढे ४ लाख लिटर क्षमता खानेपानी वडा नम्बर ३ को आदर्श मावि पछाडि बन्ने क्रममा रहेको जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले आफूलाई आएको प्रश्नको जवाफ दिँदै सरकारले तोकेको कर्मचारी र औसधि उपलब्ध रहेको बताए ।
कार्यक्रममा अध्यक्ष कक्षपतिले चुनौतीका रुपमा जनसहभागितामा कमी, आन्तरिक स्रोत न्यून, उपभोक्ता समिति, निर्माण कम्पनीबाट हुने योजना स्थानीयबाट अनुगमन सुपरिवेक्षण आवश्यक रहेको बताए ।
खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, विभिन्न शाखाका प्रमुखहरु जवाफदेही वक्ताका रुपमा रहेका थिए ।