उनले भित्र्याएको फ्लेक्स प्रिन्टर त्यतिबेला साविकको मध्य तथा सुदुर पश्चिममा एकमात्र फ्लेक्स प्रिन्टर थियो । त्यसले पनि उनका ग्राहकको क्षेत्र नै फराकिलो बन्यो । उनको पब्लिक रिलेशन स्थापित गर्ने कलाले उद्योगलाई माथि लैजान ठूलो भूमिका खेल्यो ।
भिडियोमा :
वीरेन्द्र जैसी नेपालगन्ज, २९ साउन
नगरपालिकाको एउटा सटर, त्यसमा एउटा टेबल, एउटा कुर्चि, एउटा कम्प्युटर, एउटा सेकेण्ड ह्याण्ड फोटोकपी मेसिन र एउटा टेलिफोन सेटबाट सुरु भएको व्यवसाय अहिले करोड बढीको उद्योगमा स्थापित भएको छ । एकदर्जन व्यक्तिको परिवार उक्त उद्योगबाट चलेको छ । त्यही सटरबाट सुरु भएको व्यवसायबाट भएको आम्दानीले नेपालगन्जमा चारवटा घरहरु पनि उभिएका छन् ।
नेपालगन्जको एक पुरानो र प्रविधिका हिसाबले नेतृत्वदायी प्रिन्टिङ उद्योग हो लक्ष्मी मिडिया प्रिन्टर्स । फ्लेक्स प्रिन्टमा मध्य तथा सुदुरपश्चिमको पहिलो प्रेस भित्र्याएको र अहिलेपनि यस क्षेत्रमै केही प्रविधिमा एकमात्र मेसिन भएको उद्योग हो लक्ष्मी मिडिया प्रिन्टर्स ।
पिन्टर्सका सन्चालक हुन् सुनिल भण्डारी । भण्डारीले १८ वर्षको उमेरमै ठूलो जोखिम मोलेर स्थापना गरेका थिए फोटोकपी पसल । सरकारी जागिरे बुवाको सुनिल सानो छँदै देहान्त भयो । त्यसपछि आमाको एकल अभिभावकत्वमा हुर्किएका भण्डारी र उनका दाइ अनिलसँग न जागिर थियो न व्यापार व्यवसायमा कुनै दरिलो आड भरोसा । थियो त ओतलाग्ने एकतले घर । सुनिलले सोही घर बैंकमा राखी ऋण लिएर सुरु गरे फोटोकपी पसल । त्यतिबेला सुनिलको उमेर करिब १८-१९ वर्षमात्रै थियो । ‘मैले त्यतिखेर जुवा खेलेकै हुँ । किनकी भएको एकमात्र घर पनि बैंकमा राखेर व्यवसायमा हात हाल्नु रिस्ककै कुरो थियो,’ सुनिलले भने ।
उनले पसल सुरु गरेको स्थान पनि तत्कालिन नेपालगन्ज नगरपालिकाको अरुले चल्दैन भनेर छोडेको सटर थियो । सोही सटरमा आजभन्दा करिब १७-१८ वर्षअघि सुरु भएको फोटोकपी पसल अहिले पनि नेपालगन्जको विपीचोकमा सन्चालनमा छ । ‘त्यो पसल कहिल्यै बन्द नगर्ने भन्ने मेरो दृढता छ । किनभने त्यही पसलबाट उद्योगको स्थापना भएको हो,’ सुनिल भन्छन्, ‘त्यसलाई उद्योग रहुन्जेलसम्म जोगाइराख्ने हो ।’
सुनिल फोटोकपी पसल सुरु गर्दा देखि नै जागिर गरेरमात्रै गुजारा नगर्ने र आफ्नै केही ब्राण्ड स्थापित गरौँ भन्ने सोचले डोर्याएको बताउँछन् । त्यसका साथै प्रविधिको भविष्य राम्रो हुन्छ भन्ने ज्ञान भएको र सानै भएपनि त्यसैसँग सम्बन्धित व्यवसाय सुरु गर्ने र भर्खरै सिकेको कम्प्युटरसम्बन्धी सीपलाई उपयोग गर्दैे फोटोकपि पसल सुरु गरेको उनले बताए । त्यसकारण कुनैपनि व्यवसाय सुरु गर्दा त्यसको संभावना र आफूसँग त्यसका लागि आवश्यक ज्ञान सीपबारे गम्भीररुपले विचार गर्न उनी सुझाव दिन्छन् ।
त्यतिखेर कम्प्युटरसम्बन्धी काम गर्ने पसलहरु एकदमै कम हुने अवस्थामा उनको पसललमा कामको चाप बढ्दै गयो । ९९ पैसामा एकप्रति फोटोकपि गरिने त्यसबेला धेरैभन्दा धेरै काम गर्न र ग्राहकलाई समयमै उनीहरुको काम पूरा गरिदिन बिहान पाँच बजे नै पसल खोलिसक्ने गरेको भण्डारी सम्झिन्छन् । राती ११ बजेसम्म पनि उनको पसल सन्चालनमै हुन्थ्यो । त्यही खटाइले उनको व्यवसायले त्यसभन्दा ठूलोे उद्योगका लागि बाटो खोल्यो ।
प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका सुनिलको मिलनसार र इमान्दार व्यवहारले साथीहरुको सर्कल पनि बनाइसेका थिए । उनले फोटोकपि पसल सुरु गरेको केही वर्षमै अनलाइमा फ्लेक्स प्रिन्टरबारे जानकारी लिए र त्यसकै उद्योग सुरु गर्ने सोच बनाए । उनले अनलाइनबाटै मेसिनका लागि अर्डर दिए । काठमाडौ नै गएर उनले मेसिन चलाउन सिके । करिब ९, १० लाख लगानी लाग्ने अनुमान गरिएकोमा उनले साथीभाइसँग सरसापट माग्ने योजना बनाएका थिए । परिवारमा आफ्नो योजना सुनाएपछि दाइ अनिलले नै लगानी गर्ने बताए । त्यसपछि दुइ भाइको लगानीमा सुरु भयो लक्ष्मी मिडिया प्रिन्टर्स ।
उनले भित्र्याएको फ्लेक्स प्रिन्टर त्यतिबेला साविकको मध्य तथ सुदुर पश्चिममा उनको एकमात्र फ्लेक्स प्रिन्टर थियो । त्यसले पनि उनका ग्राहकको क्षेत्र नै फराकिलो बन्यो । उनको पब्लिक रिलेशन स्थापित गर्ने कलाले उद्योगलाई माथि लैजान ठूलो भूमिका खेल्यो । यसका साथै साथीभाइ र परिवार बैंकको साथले पनि आफूलाई सफल बनाउन भूमिका खेलेको उनको भनाइ छ ।
हाल उद्योगमा फ्लेक्स ब्यानर, स्टिकर प्रिन्ट, रेडियम प्रिन्ट, ग्लो साइनबोर्ड, वन वे भिजन लगायत २डी ३डी सम्मका डिजिटल प्रिन्टर सम्बन्धी सबै किसिमका कामहरु हुन्छन् । यसैगरी सिएनसी राउटर जसले काठ, आल्मुनियम र स्टोनलाई काटेर प्रिन्ट गर्न सक्छ र मेसिनबाटै शिलालेख तयार गरिन्छ । ढोकाझ्यालका बुट्टा भर्ने काम पनि मेसिनबाटै गरिन्छ । हातले गर्दा समय र परिश्रम दुवै लाग्ने कामहरु उनको उद्योगबाट छोटो समयमै गर्न सकिन्छ ।
हाल पनि मध्य तथा सुदुरपश्चिममा पत्थरमा मेसिनबाट शिलालेख लेख्ने मेसिन भएको लक्ष्मी मिडिया प्रिन्टर एउटा मात्रै उद्योग हो । भविष्यमा पनि प्रविधिसँगै अघि बढने नयाँ प्रविधि र ग्राहकको मागअनुसारको सेवा प्रदान गर्ने उदेश्य रहेको सुनिल बताउँछन् ।
हाल उमेरले साढे तीन दशकको उकालो लागिरहेका सफल उद्योगी भण्डारी आफूले गर्न चाहेको उद्योग या व्यवसायमा कन्भिन्स भइसकेपछि जोखिम मोल्न सुझाव दिन्छन् । ठूलो लगानी नभएपनि सानै लगानीबाट पनि आफ्नै व्यसाय सुरु गर्नुपर्ने उनको राय छ । विदेशमा सिकेको सीप र देखेको प्रविधि देशमा प्रयोग गर्न, सुचना प्रविधिको प्रयोग गरी बजार र व्यवसायको बारेमा अध्ययन गर्न उनले सुझाव दिए । उनले भने, ‘विदेशको एक रुपैयाँभन्दा स्वदेशमा आफ्नै व्यवसायबाट कमाएको आठ आना चौवन्नी पनि ठूलो हो ।’