व्यवस्थित राजधानी निर्माण पहिलो प्राथमिकता : मन्त्री चौधरी
Friday, August 13th, 2021, 7:53 pm
Kalpristha
लिलाधर ओली
दाङ, २९ साउन
लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले व्यवस्थीत राजधानी निर्माण आफ्नो पहिलो प्राथमिकतामा हुने बताएका छन् ।
नवनियुक्त मन्त्री चौधरीले शुक्रबार प्रदेशको स्थायी राजधानी मौरीघाटस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै व्यवस्थीत राजधानी निर्माणको कामलाई आफुले प्राथमिकता दिने बताएका हुन । मन्त्री चौधरीले अस्थायी राजधानी बुटवलमा रहेका सवै मन्त्रालयहरुलाई जति सक्यो चाँडै प्रदेशको स्थायी राजधानी भालुवाङमा ल्याउने गरी काम गर्ने बताए । ‘लुम्बिनी प्रदेशको स्थायी राजधानीमा व्यवस्थीत राजधानी निर्माणको काम सरकारको पहिलो प्रथामिकतामा हुनेछ,’ मन्त्री चौधरीले भने, ‘त्यहीअनुसार मैले कर्मचारीलाई काम गर्न निर्देशन दिएको छु । बाँकी काम जतिसक्यो चाडै सकिनेछ ।’
त्यसैगरी मन्त्री चौधरीले पर्यटनलाई रोजगारसँग जोडेर अघि बढ्ने बताए । पर्यटनका माध्यमबाट प्रदेशको समृद्धि गर्न सकिने भन्दै उनले प्रदेशको पर्यटनको विकास आफ्नो दोस्रो प्राथमिकतामा रहेको बताए । ‘प्रदेशको व्यवस्थीत राजधानी निर्माणसँगै पर्यटनलाई रोजगारसँग जोडेर विकास गर्ने मेरो दोस्रो काम हुनेछ,’ मन्त्री चौधरीले भने, ‘पर्यटकीय क्षेत्रको विकासको सम्भावनाको पहिचान गर्दै विकासका लागि काम गर्नेछौँ ।’
पछिल्लो समय देशमा कोरोना संक्रमण दर बढेको भन्दै मन्त्री चौधरीले जनतालाई कोरोनाबाट बच्नका लागि सचेतना अपनाउन समेत आग्रह गरेका छन् । उनले सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि काम गरिरहेको भन्दै जनताको लापरवाहीका कारण पछिल्लो समय संक्रमण दर बढिरहेको बताएका थिए । मन्त्री चौधरीले मन्त्रालय पुगेर पदभार गर्नुअघि राप्ती गाउँपालिकाको मौरीघाट चोकमा रहेको कांग्रेस नेता शहिद श्रीनारायण चौधरीको शालिकमा माल्र्याल्पण गरेका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि बुधबार राजिनामा दिएका थिए । पोखरेलले राजिनामा दिएपछि बिहीबार कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुको समर्थनमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ मुख्यमन्त्री बनेपछि उनको नेतृत्वमा चौधरी मन्त्री बनेका हुन् ।